पोखरा
निर्मलपोखरी बागमारा पुँडी साना सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनमा आएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सोमबार उक्त आयोजनाको उद्घाटन गरे ।
आचार्यले आयोजना सञ्चालनमा आएसँगै उपभोक्ताहरूले खानेपानीको समस्या भोग्न नपर्ने बताए ।
आयोजनाले तत्कालका लागि १ हजार ९८० घरधुरीलाई पानी उपलब्ध गराएको उनले जानकारी दिए ।
‘अब छिट्टै ३२ सय बढी घरमा धारा जोडिनेछन्’, आचार्यले भने, ‘खानेपानीलाई नेपालको संविधानले मौलिक हकका रूपमा उल्लेख गरेको छ । नगरवासीलाई सुद्ध खानेपानी उपलब्ध गराउने कार्यमा पोखरा महानगरपालिका प्रतिबद्ध छ ।’
‘गरिबीको रेखामुनिका परिवारलाई १० हजार लिटर निशुल्क खानेपानी’
हाल महानगरको डाटा कलेक्सनको काम अन्तिम चरणमा पुगेको पनि आचार्यले जानकारी दिए ।
प्राप्त डाटाहरू विश्लेषणपश्चात् गरिबीको रेखामुनि रहेको नागरिकहरूलाई प्रतिपरिवार १० हजार लिटरका दरले निःशुल्क खानेपानी उपलब्ध गराउने प्रतिबद्धता समेत जाहेर गरे ।
उनीहरूलाई खानेपानीसँगै निशुल्क स्वास्थ्य बिमा पनि गरिदिने योजनामा महानगर रहेको महानगरले जनाएको छ ।
‘हामी गरिबिको रेखामुनि रहेको परिवारलाई प्रति परिवार मासिक १० हजार लिटरका दरले खानेपानी र उनीहरूको निःशुल्क स्वास्थ्य बिमा पनि गरिदिन्छौं,’ उनले भने ।
आयोजनाको कुल लागत ३४ करोड ९१ लाख ७२ हजार २ सय रहेको उपभोक्ता समितिका अध्यक्ष केशरप्रसाद निर्दोषीले जानकारी दिए ।
आयोजनाअन्तर्गत कलेक्टर वेल २ वटा, सम्पवेल २ वटा, स्लो सेन्ड फिल्टर ४ वटा, रफिङ फिल्टर ६ वटा, क्लियर वाटर ट्यांक एउटा, आरभीटी ४ वटा, सेड हाउस ७ वटा निर्माण गरिएको छ भने ट्रान्समिसन लाइन १० कि.मि र वितरण लाइन १८ कि.मि विस्तार गरिएको छ ।
खानेपानी आयोजनालाई प्रविधिमैत्री बनाउनका लागि सक्दा (SKADA) सिस्टम जडान कार्य अन्तिम चरणमा पुगेको र त्यसका माध्यमबाट पानीको भल्व खोल्ने बन्द गर्ने कार्य हुनेछ ।
‘सक्दा सिस्टम’ जडान कार्यका लागि थप १ करोड ५७ लाख ४० हजार थप खर्च हुनेछ ।
उनकाअनुसार हाल बिहान ५ र साँझ ५ गरी दैनिक १० घण्टा पानी उपभोक्ताकामा जाने गरेको छ ।
प्रकाशित मिति २०८० माघ ९ गते मंगलबार १०:५५




