२०८३ साउन २१ गते बिहीबार

धरहराको काम किन सकिएन उद्घाटन गर्नेलाई पत्र लेख्नू, पार्किङ बन्द हुँदैनः बालेन शाह

धरहराको काम किन सकिएन उद्घाटन गर्नेलाई पत्र लेख्नू, पार्किङ बन्द हुँदैनः बालेन शाह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २३ गते मंगलबार ०९:०१

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् । शहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएपछि मेयर शाहले पार्किङ बन्द नहुने बताएका हुन् ।

मन्त्रालयले निर्माणको काममा बाधा पुग्नेगरी मन्त्रालय, विभाग र आयोजनासँग कुनै जानकारी एवं समन्वय नै नगरी एकतर्फी ढंगबाट सर्वसाधारणलाई निःशुल्क पार्किङ सुविधा उपलब्ध गराएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘आयोजना समयमै सम्पन्न गरी सर्वसाधारणलाई पार्किङ यथाशक्य चाँडो उपलब्ध गराउने यस मन्त्रालयको चाहनामा बाधा उत्पन्न भएको महसुस यस मन्त्रालयले गरेको छ,’ पत्रमा भनिएको छ, ‘तसर्थ उक्त पार्किङ गर्ने कार्य हाललाई स्थगित गरी निर्माण व्यवसायीलाई निर्माण वर्ष यथाशीघ्र समयमै सम्पन्न गर्न वातावरण सिर्जना गर्ने कार्यमा काठमाडौं महानगरपालिका, सर्वसाधारण एवं सरोकारवालाहरू सबैमा यस मन्त्रालय हार्दिक अपिल गर्दछ ।’

मन्त्रालयको यो पत्रपछि मेयर बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीन भन्नु लाजमर्दो भएको टिप्पणी गर्दै पार्किङ बन्द नहुने जवाफ दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’

मेयर बालेनको फेसबुक स्टाटस:-
२०७८ वैशाख ११ शनिबार अर्थात् आज भन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट ” सेतो टावर ” उद्घाटन भयो । सोही उद्घाटनलाई काठमाडौँ तत्कालीन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, “आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे ” ।

तर केहीदिन अगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुँदैछ । पार्किङ बन्द गर्नु ।’

उद्घाटन गरेको २ वर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।

तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभई उद्घाटन हुने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरुरी छ । निर्माण सम्पन्न नभई उद्घाटन गर्ने कुप्रवृतिलाई निरुत्साहित गरौँ ।

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।

अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निःशुल्क सञ्चालन हुँदैछ, अझै व्यवस्थापन गर्दै लग्नेछौं । अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौं ।

प्रकाशित मिति २०८० माघ २३ गते मंगलबार ०९:०१
हजुरको प्रतिक्रिया