२०८३ कात्तिक ११ गते मंगलबार

फोनमा धम्काएर ५ करोड फिरौती मागे, ‘साइडइफेक्ट’ बुझ्न पुगिरहन्थे

फोनमा धम्काएर ५ करोड फिरौती मागे, ‘साइडइफेक्ट’ बुझ्न पुगिरहन्थे

विनोद ढुंगाना

@Public 4K Tv

२०८० माघ २५ गते बिहीबार १२:५६

सच्चाई केन्द्रका अध्यक्ष पकाशदीप गैरेलाई टेलिफोन र म्यासेजमार्फत ५ करोड रुपैयाँ फिरौती माग गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए ।

पोखरा

भारतीय सिमकार्ड प्रयोग गरेर ५ करोड रुपैयाँ फिरौती माग्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका ३६ वर्षीय लक्ष्मण दर्जी र पर्वतकै कुश्मा नगरपालिका–१४ आर्थरका दीपकबहादुर क्षेत्रीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

बिहीबार पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनाबारे सार्वजनिक गरेको छ ।

सच्चाई केन्द्रका अध्यक्ष प्रकाशदीप गैरेलाई टेलिफोन र म्यासेजमार्फत ५ करोड रुपैयाँ फिरौती माग गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए ।

‘प्रकाशदीप गैरेको सम्बन्धमा युटयुबमार्फत भिडियो हेर्ने गरेको पाइयो ।

सच्चाईको पैसा दिन सक्ने व्यक्ति अनुमान लगाएर माघ १३ गते सच्चाइ केन्द्रमै पुगेर १÷२ घण्टा बसेर प्रकाशदीप गैरेको नम्बर लिएर आएको भेटियो’, प्रारम्भिक वयानबारे एसपी थापाले उल्लेख गरे ।

एसपी थापाका अनुसार माघ १८ गते गैरेलाई ५ करोड फिरौति माग्दै फोन र म्यासेज गरेका थिए ।

‘५ करोड रुपैयाँ परिवारको सुरक्षाका लागि तयार गर्नुहोला । कहाँ कसरी दिनेबारे हामी पछि भन्नेछौं’, भारतीय फिल्मको शैलीमा धम्काउदै फोन म्यासेजमा भने थिए ।

फोनमा फिरौती माग्दै धम्काएका दर्जी र क्षेत्री पर्सिपल्ट धम्कीको साइडइफेक्ट बुझ्न लामाचौरमा रहेको सच्चाइ केन्द्रमै पुगे ।

फेरि माग २३ गते पनि सच्चाइ केन्द्र पुगेर आधा घण्टा विताए । बुधबार भने दुवै जना प्रहरीको फन्दामा परेका छन् ।

यी दुवैले १ महिना अगाडि मात्रै कास्कीको पोखरा महानगरपालिका–८ सीमलचौरमा डेरा लिएर बस्न थालेका थिए । डेराबाटै प्रहरीले पक्राउ गरेको हो ।

लक्ष्मण ४ वर्ष कतार बसेर नेपाल फर्किएका हुन् । उनी नेपाल फर्किएको १ महिनामात्रै भएको छ ।

प्रहरीलाई दिएको प्रारम्भिक वयान अनुसार विदेशबाटै योजना बुनेको अनुमान गरिएको छ ।

उसो त दीपकबहादुर क्षेत्री गतवर्षमात्रै जिल्ला प्रहरी कार्यालय पर्वतमा हातहतियार तथा खरखजना सम्बन्धि मुद्वा चलेका व्यक्ति हुन् ।

दीपकबहादुर विरुद्ध २०७१ सालमा कास्कीको वडा प्रहरी कार्यालय बैदामबाट अभद्र व्यवहारमा मुद्वा चलेको प्रहरीको अभिलेखले बताउँछ ।

प्रक्राउ परेका दर्जी र क्षेत्रीको साथबाट किताबदेखि बन्दुकमा लाग्ने केपसम्म फेला परेको छ ।

इजोरिया, चिना हराएको मान्छेसहित ३ थान पुस्तक बरामद भएको हो ।

यस्तै, २ थान मोबाइल सेट, १ भारतीयसहित ५ थान सिमकार्ड, खुकुरी १ थान, लागुऔषध गाँजा ५७५ ग्राम, भरुवा बन्दुकमा लाग्ने केप २७ थान, मुगा १४ थान, कालोटर्च २ थान बरामद भएको छ ।

फलामको ह्याक्सा ब्लेड, रन्दा मेसिन, गेलेण्डे मेसिन र पेन्चिस १÷१ थान बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

नोटबुकसँगै विभिन्न व्यक्तिको नाम लेखेको कागजको पन्नासमेत फेला परेको एसपी थापाले बताए ।

‘रिच किड लेखेर नेता व्यापारी, गुण्डा, भू–माफिया, मेडिकल माफिया, म्यानपावर माफियाको नाम उल्लेख छ’, उनले भने ।

‘गणतन्त्र, राजतन्त्र, धर्म निरपक्षेता, हिन्दु राष्ट्र’, उनीहरुको कमजोर पक्षको रुपमा चित्रित गरेका छन् ।

पक्राउ परेका विरुद्ध थप अनुसन्धान सुरु हुनेछ । ३ मुद्वामा अनुसन्धान हुने एसपी थापाले बताए ।

‘लागुऔषध, हातहतियार र अपराधिक लाभ सम्बन्धि मुद्वामा अनुसन्धान हुनेछ’, उनले भने ।

प्रकाशित मिति २०८० माघ २५ गते बिहीबार १२:५६
हजुरको प्रतिक्रिया