पोखरा
तीन महिना अगाडि अविवाहित एक जोडी पोखरास्थित परिवार नियोजन संघको कार्यालय पुगे ।
सहमतिमै भएको यौन सम्बन्धपछि ती महिला गर्भवती भइन् । अविवाहित जोडी बच्चा जन्माउने अवस्थामा नरहेपछि गर्भपतन गराउन चाहन्थे ।
गर्भ बसेको महिना दिनपछि उनीहरु गर्भपतन सेवा लिन पुगे परिवार नियोजन संघ पोखरामा ।
चिकित्सकको परामर्शमा नै गर्भपतन गराउन पुगेका ती जोडीलाई गोपनीयता राखेर संघले सेवा दियो ।
यो जोडीजस्तै गर्भपतन सेवा लिन चाहने जोडिको संख्या विस्तारै बढ्दो क्रममा रहेको परिवार नियोजन संघमा कार्यरत नर्स अुनषा भुजेलले जानकारी दिइन् । उनका अनुसार परिवार नियोजनसँगै गर्भपतनको सेवा लिन सर्वसधारण खुल्न थाल्दैछन् ।
‘अहिलेको पुस्ता पहिलेको जस्तो छैन । सुरुमा नै गर्भपतन गराउन परामर्श लिन आउँछन् । पहिलापहिला गर्भपतनका लागि महिला एक्लै आउने गर्थे । अहिले श्रीमानसँग, व्याइफ्रेण्डसँग आउछन् । इमोशनल सपोर्ट पनि पाएका छन्,’ उनले भनिन् ।
सेवाग्राही यसरी खुलेर स्वास्थ्य सेवा लिन आउँदा महिलाको स्वास्थ्यमा कम असर पुग्ने उनको भनाइ छ ।
‘गर्भपतन सेवा सरकारले स्वीकृति दिएको ठाउँबाट मात्रै लिनुपर्छ । निरन्तर चिकित्सकको निगरानीमा रहनुपर्छ । चिकित्सकसँग परामर्श नगर्दा पाठेघरमा जोखिम हुन सक्छ,’ अनुषाले सुनाइन् ।
केही वर्ष यता, परिवार नियोजन र गर्भपतनका विषयमा जनचेतना फैलिएको छ । दम्पती होस् वा अविवाहित जोडी परामर्श गरेर मात्रै सेवा लिन थालेका छन् ।
जनचेतना फैलिएको त छ तर, यसको फरक पाटो पनि छ । जसको समाधान जरुरी छ । सहज पहुँच हुँदा महिलाको स्वास्थ्यमा पर्ने सम्भावित असर वा जोखिमको विषयमा पनि ध्यान दिनुपर्ने हुन्छ ।
‘जनचेतना फैलिरहेकै हुन्छ तर पनि गर्भ निरोधक औषधी मिठाई किने सरह भइरहेको छ । घरनजिकै मेडिकल हुन्छ । गर्भपतन गर्नुपर्ने नपर्ने अवस्था ल्याउन कण्डम प्रयोग गर्नुपर्ने हो । पिल्स खानुभन्दा पुरुषले कण्डमको प्रयोग गर्दा महिलाले गर्भपतनको पीडा र दुख भोग्नुपर्दैन,’ अनुषाको सुझाव छ ।
शारीरिक सम्बन्ध राख्नु पूर्व अस्थायी साधनको प्रयोग गरे अनिच्छुक गर्भबाट जोगिने उनको भनाइ छ । अस्थायी साधनको प्रयोगले यौनजन्य रोगको जोखिम पनि कम गराउँछ ।
गर्भपतनको सजिलो र सहज उपाय हो, औषधीको सेवन मार्फत गरिने गर्भपतन । यो सेवामा पहुँच सबैको छ । तर, सहज पहुँचमा भएको औषधी अन्धाधुन्ध सेवन गर्दा महिलाको स्वास्थ्यमा जोखिम हुन्छ । गर्भपनत हुने वा औषधी सेवनपछि अत्याधिक रक्तश्रावले महिलाको ज्यानै जोखिममा पर्न सक्ने भुजेलले बताइन् ।
‘औषधी खाँदा अत्याधिक रक्तश्राव हुनसक्छ । खाएको भोलिपल्टबाट रक्तश्राव भयो भने राम्रो, अन्यथा १४ देखि १५ दिनसम्म थोरैथोरै मात्रामा रक्तश्राव हुन्छ । अझै राम्रोसँग गएन भने चाहिँ क्युरेट गर्नुपर्ने हुन्छ,’ उनले सुनाईन् ।
कतिले त गर्भपतन अवैधानिक स्वास्थ्य सेवामा गराउदा पनि जोखिम निम्तने उनको भनाइ छ । यो समस्या पनि केही घट्दै गएको उनको अनुभव छ । फार्मेसी मार्फत पनि आजभोलि गर्भपतन सेवा लिने बिरामी परिवार नियोजन रिफर हुन्छन् । यसले सम्भावित जोखिमलाई न्यूनिकरण गरेको छ ।
‘आजभोलि मेडिकल फार्मेसीले धेरैजस्तो गर्भपतनका लागि रिफर गर्ने गर्छन् । यहाँ गोपनीयता कायम राखिन्छ,’ उनले सुनाइन् ।
केही फार्मेसीबाट नै रिफर भएर आउने भए । केही आफनै सुझबुझले समेत आउन थालेका छन् । अनुषाको पाँच वर्षका अनुभवमा यो धेरै परिवर्तन भएको बुझाइ छ ।
‘पहिलेपहिले मान्छेहरु संकीर्ण सोचका हुन्थे, बोल्न नखोज्ने, कुरा नखोल्ने गर्थे । तर, अहिले यतिखेर यौन क्रियाकलाप भयो, मेरो पिरियड यतिखेर हुन्थ्यो अहिले नभएर आएको भनेर मजाले खुलेर भन्छन्,’ उनले भनिन् ।
गैर सरकारी संस्था परिवार नियोजन संघले गर्भपतनसँगै परिवार नियोजनको सेवा दिँदै आएको छ । संघमा गर्भपतन बाहेक परिवार नियोजनको साधनबारे परामर्श हुन्छ ।
अनिच्छुक गर्भ रहन गएमा संघमा औषधीको प्रयोग गरि वा सर्जिकल मार्फत गर्भपतन सेवा लिन सकिन्छ । संघले औषधीको प्रयोग गरेर गर्भपतन गराउनेलाई बढी सेवा दिइरहेको छ ।
संघले दिएको तथ्यांक अनुसार सन् २०२३ मा ५०६ जनाले औषधीको प्रयोगबाट गर्भपतन गराएका छन् । यसमध्ये १५ देखि १९ वर्षका २७, २० देखि २४ वर्षका ११९, २५ देखि २९ वर्षका १३८, ३० देखि ३४ वर्षका १३०, ३५ देखि ३९ वर्षका ६६ र ४० देखि ४४ वर्षका २६ जना रहेका छन् ।
सर्जिकलमार्फत गर्भपतन गराउनेको संख्या भने कम छ । १६२ जना महिलाले सर्जिकल मार्फत गर्भपतन गराएका छन् । जसमध्ये ६ जना १५ देखि १९ वर्षका, २० देखि २४ वर्षका १८ जना, २५ देखि २९ वर्षका ४३ जना, ३० देखि ३४ वर्षका ४५ जना, ३५ देखि ३९ वर्षका ३४ जना र ४० देखि ४४ वर्षका १६ जना रहेका छन् ।
गर्भ रहने बित्तिकै आत्तिएर अधिकांशले औषधी प्रयोग गरेर गर्भपतन गर्ने अनुषाले जानकारी दिइन् । अनुषा भन्छिन्, ‘गर्भपतन छिटो गरौँ भन्ने मनसाय राख्छन् । सास नपस्दै गरिहालौँ, सास पसिसके पश्चाताप महसुस हुने भएकोले सेवाग्राहीले औषधीको बढि प्रयोग गर्छन् ।’
उनका अनुसार औषधीबाट गर्भपतन गराउँदा ९८ प्रतिशत सफल हुने सम्भावना हुन्छ । २ प्रतिशत औषधीले काम नगर्ने अवस्था हुन सक्छ । औषधी सेवन गरेर भने ९ देखि १० हप्तासम्मको गर्भ फाल्न सकिन्छ । गर्भ १० हप्ता कटेपछि भने सर्जिकल विधि अपनाउनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन अनुसार महिलाको मन्जुरीमा १२ हप्तासम्मको गर्भ फाल्न पाउने कानुन छ । यसबाहेक महिला वा गर्भमा रहेको बच्चामा स्वास्थ्य समस्या देखिए र जबर्जस्ती करणीका हकमा २८ हप्तासम्मको गर्भ फाल्न सकिने कानुनी प्रावधान छ ।
प्रकाशित मिति २०८० फागुन १८ गते शुक्रबार ०७:५७




