पोखरा
कास्कीको मादी गाउँपालिका-१ सिक्लेसमा मृत फेला परेका रामबहादुर तामाङको हत्यामा संलग्न ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
सिन्धुपाल्चोक जुगल गाउँपालिका-३, गुम्दाका तामाङको हत्यामा संलग्न श्रीमतीसहित ४ जनालाई कास्की प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो ।
चैत ३ गते मादी गाउँपालिका-१ सिक्लेसमा टाउकोमा चोटपटक लागेको अवस्थामा तामाङको शव फेला परेको थियो । प्रहरीको अनुसन्धानपछि घटनामा मृतकको श्रीमती कान्छी लामा तामाङसहित ४ जनाको संलग्न रहेको पत्ता लगाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
घटनामा संलग्न मृतकको श्रीमतीसहित धन लामा र दुई किशोरलाई पक्राउ गरेको डिएसपी विकले बताए । उनीहरूलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाइ छ ।
मृतक र उनको श्रीमतीबिच ५/६ वर्ष अघिदेखि मनमुटाब सिर्जना भई छुट्टाछुटै बस्दै आएका थिए । मृतकले अर्को विवाह गरेपछि कान्छी तामाङ अदालतमा मुद्दा दिइन् । त्यसको फैसलासमेत भएको थियो । मृतकले अदालतको आदेशअनुसार कारागारबाट कैद सजाय भुक्तानी गरेर निस्किएका थिए । त्यसपछि मृतकको श्रीमती कान्छीले मार्ने योजना बनाएकी थिइन् ।
धन लामा मृतकको श्रीमतीका प्रेमी थिए । ५ वर्षअघि नै मृतकसँग धन लामाको चिनजान पनि थियो । हाइड्रोपावरमा मृतकसँगै एक्स्काभेटर सहचालकको रूपमा काम गर्ने क्रममा भएको विवादको रिस पनि धनसँग थियो । त्यसैमा मृतकको श्रीमतीले ‘पन्छाउनु पर्यो पैसा दिन्छु’ भनेपछि धनसहितका ३ जना मृतक रामबहादुरसँगै पोखरा आएका थिए ।
सिक्लेशस्थित रहेको हाइड्रोपावरमा काम गर्न जाने क्रममा चैत १ गते बाटोमा रामबहादुरलाई धन लामासहित ३ जनाले गरेर हत्या गरेका हुन् । हत्यामा संलग्नलाई मृतकको श्रीमतीले ९० हजार जम्मा गरी दिएकी हुन् ।
प्रकाशित मिति २०८० चैत ९ गते शुक्रबार ०६:३९




