पोखरा
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। केशरजंग बरालले राजनीतिक दलहरुले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनलाई परिचालन गर्न रोक्नुपर्ने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उपकुलपति बरालले शैक्षिक क्षेत्रमा राजनीतिक दलका भ्रातृ संगठनहरुलाई परिचालन गर्न रोक्नुपर्ने बताएका हुन् ।
हरेक दलको विद्यार्थी, कर्मचारी र प्राध्यापक संगठन रहेका भन्दै उनले हरेक दिन उनीहरुसँग नै अल्झिरहनु परेको बताए । उनले विगतमा भ्रातृ संगठनहरु आवश्यक भएपनि अबका दिनमा शैक्षिक संस्थामा भातृ संगठनहरुको उपयोगिताको सम्बन्धमा दलहरुले सोच्नुपर्ने बेला आएको उल्लेख गरे ।
‘हामीले परिक्षा लिन्छौँ तर नतिजा महिनौँ ननिस्किएको कुरा सत्य हो । तथ्यलाई हामीले स्वीकार्नु पर्छ । परिक्षालाई सुधार्न मेरो टिम लागिराखेको छ । एक दिन एउटा पार्टीको आउँछ । अर्कोदिन अर्को पार्टीको आउँछ । त्यसैमा हामी धेरैजसो अल्झिराख्नु परेको छ । हामीले अनावश्यक रुपमा आफ्नो भ्रातृ संगठनलाई परिचालन गर्न रोक्नुपर्छ,’ उनले भने ।
प्रकाशित मिति २०८१ वैशाख २७ गते बिहीबार ०६:४६




