पोखरा ।
पोखरा -२५ ले वडाका जेष्ठ नागरिककाे स्वास्थ्य परिक्षण गर्ने गरि वडा नागरिक आरोग्य कार्यक्रमकाे शुभारम्भ गरेकाे छ ।
घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने गरी कार्यक्रम शुभारम्भ गरिएको वडा अध्यक्ष मोतीलाल तिम्सिनाले बताए। शुभारम्भकाे दिन ७१ परिवारका एक सय बढी ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण सम्पन्न भएकाे वडाले जनाएकाे छ ।
आरोग्य कार्यक्रमकाे शुभारम्भ गर्दै पाेखरा महानगरका प्रमुख धनराज आचार्यले प्रयोगशाला परीक्षण सहितको सेवाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था पत्ता लगाउन र आवश्यक परेको खण्डमा उपयुक्त स्वास्थ्य सेवा तथा परामर्श दिन सहज हुने बताए ।
‘पाइलट प्रोजेक्टको रूपमा अहिले यो कार्यक्रम वडा नं.२५ बाट सुरु गरिएको छ, प्रमुख आचार्यले भने, यसको प्रभावकारीता हेरेर क्रमशः अन्य वडाहरूमा समेत याे सेवा विस्तार गर्न सकिनेछ ।’ आगामी आर्थिक वर्षकाे नीति कार्यक्रम र बजेटको तयारीमा रहेको बताउँदै आचार्यले स्वास्थ्य महानगरपालिकाको पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे ।
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले स्वास्थ्य सम्बन्धी जागरण नागरिक स्तरमा आवश्यक रहेको बताए । स्वास्थ्यकर्मीहरूको एकल प्रयासले मात्र नागरिक सचेतना अभिवृद्धि सम्भव नरहेको उल्लेख गर्दै उनले सरोकारवाला सवै क्षेत्रले हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिए । स्वस्थ महानगर निर्माणका लागि सबै नागरिकहरूमा स्वास्थ्य सचेतना र सेवा पहुँच आवश्यक रहेको उनकाे भनाइ थियाे ।
पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष मोतीलाल तिम्सिनाले यस कार्यक्रमका लागि घरधुरी सर्वेक्षण गरेर दीर्घ रोगी तथा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था, औषधी सेवनकाे नियमितता लगायतका विषय वडाबाट खटिएका स्वास्थ्यकर्मीहरुले जानकारी लिएकाे बताए । वडाले ज्येष्ठ नागरिकहरूको प्रेसर, अक्सिजन लेबल, मधुमेह लगायतको परीक्षण समेत गर्ने उनले बताए ।
प्रकाशित मिति २०८१ वैशाख ३१ गते सोमबार ११:२६
हजुरको प्रतिक्रिया




