सडकमा घन्कियो- विघटनको धारा खोई ? दिउँसै लाल्टिन बाल्यौँ है !
काठमाडाैं । संसद् विघटनको निर्णय विरुद्द नेकपाको प्रचण्ड–माधव पक्ष निकट अनेरास्ववियुले काठमाडाैंमा लाल्टिन जुलुस निकालेको छ । बुधबार अनेरास्ववियुका नेता कार्यकर्ताहरु काठमाडाैंको माइतीघरमा भेला भएर दिउँसै लाल्टिन बालेर संविधानमा संसद विघटनको धाराको खोजी गरेका हुन् । उनीहरुले संसद विघटनको कदम असंवैधानिक भएको भन्दै सरकारको सांकेतिक विराेधस्वरुप दिउँसै लालटिन बालेर सडकमा निस्किएका हुन् ।
विद्यार्थीहरुले ‘संसद विघटन मान्दैनौँ, संसद विघटनको धारा खोई ? दिउँसै लाल्टिन बाल्यौँ है ! असंवैधानिक कदम खारेज गर, अनेरास्ववियु जिन्दावाद, बयलगाडा कहाँ छ, अनेरास्ववियु यहाँ छ’ लगायतका नारा लगाएका थिए । विद्यार्थीहरुको जुलुस माइतीघरबाट नाराबाजी गर्दै नयाँबानेश्वर पुगी कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै विद्यार्थी नेता तथा अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले नेपालको संविधान २०७४ मा संसद विघटन गर्ने कुनै धारा नभएको भन्दै ओली आफैले धारा बनाएर संसद विघटन गरेको बताए । उनले असंवैधानिक कदम सच्चाउन चेतावनी दिँदै ओली नेतृत्वका सबै मन्त्रीलाई कालो मोसो लगाइने बताए । उनले ओलीले प्रतिगामी कदम नसच्चिए आगामी पुस २६ गते केपी ओलीलाई बयलगाडामा राखेर अमेरिका पठाउने समेत बताए ।
कार्यक्रममा केन्द्रीय संघर्ष समितिका सहसंयोजक तथा स्थायी समिति सदस्य योगेश भट्टराई पनि सहभागी थिए ।
प्रकाशित मिति २०७७ पुस २२ गते बुधबार ०२:१०




