नेपालमा सतर्कता अपनाउन आग्रह
पोखरा । छिमेकी देश भारतमा बर्डफ्लूको संक्रमण पुष्टि भएको छ । भारतमा बर्डफ्लूको संक्रमण देखिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाउन कृषि तथा पशुपन्छी मन्त्रालयले आग्रह गरेको छ ।
भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले मातहतका सातवटा सीमा नाका कार्यालयलाई बुधबार पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेले कुखुराजन्य वस्तुको आयातमा रोक लगाउँदै उच्च सतर्कता अपनाउन नाकामा रहेका क्वारेन्टाइन कार्यालयलाई निर्देशन दिइएको जानकारी दिए ।
सीमा नाका कार्यालयसँगै मन्त्रालयले तराईका केही जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउँन समेत आग्रह गरेको छ । मन्त्रालयले काँकडभिट्टा, वीरगञ्ज, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, कैलाली तथा गड्डाचौकी नाका, प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे प्राविधिक तथा अन्य स्रोत साधनको प्रयोग र थप जनशक्ति माग गर्न विशेष निर्देशन दिएको हो । मन्त्रालयले भारतबाट कुखुरा आयात गर्ने व्यवसायीलाई समेत उच्च सतर्कतामा रहन आग्रह गरेको छ । नेपालमा बर्डफ्लू सङ्क्रमण भित्रन नदिन केही समय कुखुरा आयातमा रोक लगाइएको जनाउँदै व्यवसायीलाई समेत सतर्कता अपनाउन आग्रह गरिएको प्रवक्ता घिमिरे बताए।
मन्त्रालयअन्तर्गत देशभर १६ पशु क्वारेन्टिन कार्यालय छन् । देशभर कतै ठूलो परिमाणमा कुखुरा मरे वा शङ्कास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले कृषकलाई आग्रह गरेको छ । भारतको मध्य प्रदेश, केरला, राजस्थान र हिमाञ्चल प्रदेशमा बर्डफ्लू पुष्टि भएको बताइएको छ ।
प्रकाशित मिति २०७७ पुस २३ गते बिहीबार ०२:३०




