पोखरा ।
हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजा अर्चना गरी मनाइँदैछ ।
यसरी नागको पु्जा गरेर तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।
वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।
प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परा छ ।
जुन घरमा नागको पूजा हुन्छ, त्यो घरमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनकालदेखि छ ।
विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोकट र शंख गरी अष्टनागलाई आजको दिन (ब्राह्मण) पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।
आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।
प्रकाशित मिति २०८१ साउन २५ गते शुक्रबार ०८:२९




