स्याङ्जा ।
स्याङ्जाको भीरकोट ७ बलमाटामा सरकारी अनुदानको धानमा गेडा नलागेपछि किसासहरु बिचल्लीमा परेका छन् ।
सावाँ मनसुनी नामको स्थानीय जातको धानको फलमा भुसैभुस मात्र देखिएपछि कृषकहरु चिन्तित बनेका छन् ।
करिब ७० रोपनी क्षेत्रफलमा २७ जना किसानहरुले यो जातको ४०० केजी बिउको धान रोपेका थिए । उनीहरुले गत साल धान राम्रो फलेको देखेर नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा किलोको ३२ रुपैयाँ तिरेर बिउ राखेका थिए ।
नगरपालिकालाई पटक पटक यस विषयमा कुरा गर्दा पनि वास्ता नगरेको कृषक युवराज अर्यालले गुनासो गरे । उनले भने, ‘हामी २७ जना किसान छाँै, करिब ४०० केजी धान लगाएको हो तर धानको सबै भुसैभुस छ टटलाबाहेक केही छैन ।’
धानको बोट नै सुकेर खरानी भएपछि किसानहरुले यसको उपचारको केही उपाय छ कि भनेर विभिन्न निकायमा धाएका छन् ।
कृषि ज्ञान केन्द्र स्याङ्जा र बिउ परीक्षण केन्द्र पोखराबाट विज्ञहरु पुगेर हेरे पनि के कारणले यस्तो भएको हो भन्ने पत्ता नलागेको किसानहरुले बताए ।
मोहन अर्याल भन्छन्, ‘एक मुरी आउने ठाउँमा एक पाथी नि आउँदैन, सबै टटलो । हामी किसानको पराल सुकेर आगो लगाइदिए हुने भयो पराल पनि खाँदैनन् ।’
धान घर भित्रयाउने बेलामा खेतमा ठाडै सुकिरहेको पराल र धान देखेर किसानहरु चिन्तित बनेका छन् ।
धान त काम लागेन लागेन पराल पनि सुकेर काम नलाग्ने भएपछि वर्षभरि गाईवस्तुलाई के खुवाउने हो भन्ने चिन्ताले समेत उनीहरुलाई सताएको छ ।
प्रकाशित मिति २०८१ असोज २२ गते मंगलबार १०:०३




