डेंगु संक्रमणबाट अहिलेसम्म नौ जनाले ज्यान गुमाइसके
पोखरा ।
पछिल्लो समय देशभर डेंगु संक्रमण तीव्ररूपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म डेंगु संक्रमितको संख्या १९ हजार पाँच सय ९९ पुगेको छ ।
डेंगु संक्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेंगु संक्रमणबाट हालसम्म देशभरबाट नौ जनाले ज्यान गुमाइसकेका छन् ।
डेंगु संक्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेंगु संक्रमणबाट हालसम्म तीन हजार १०३ जना प्रभावित बनेका छन् ।
यस्तै कास्कीमा दुई हजार ८४७ जनामा संक्रमण देखिएको छ । यस्तै तनहुँमा दुई हजार १०७, पर्वतमा एक हजार ५६२, चितवनमा ९७१, ललितपुरमा ८२७, गोरखामा ५८८, बाग्लुङमा ६१०, भक्तपुरमा ३५५ तथा स्याङ्जामा ३३५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार पोष्ट मनसुन शुरु हुँदा डेंगुको जोखिम बढ्ने सम्भावना हुन्छ ।
दशैँलगत्तै अस्पताल पुग्ने डेंगुका बिरामी बढिरहेका छन् ।
डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो ।
प्रकाशित मिति २०८१ असोज ३० गते बुधबार १०:०६




