दुतावासकाे इमेल पर्खिरहेका ३३ जनाकाे करिब १ कराेड झण्डै डुबेन
पाेखरा । स्थानीय एक विद्यालयकाे शिक्षण पेशामा रमाइरहेका थिए वालिङ – १३, स्याङ्जाका ध्रुव पाठक । सामान्य सपनाकाे जेनतेन जाेहाे पनि चलिरहेकाे थियाे । बेलाबखत ठूला सपनाहरू आउँथे र हराउँथे पनि । गरिरहेकाे पेशा छाडेर कतै हामफाल्नु पनि चुनाैतिपूर्ण नै थियाे । दैनिकी चलिरहेकै थियाे ।
एकदिन उनकाे सम्पर्कमा आए चिनेजानेका दिपक कार्की । उनै कार्कीले ध्रुवलाइ क्यानडाकाे सपना देखाए । कार्कीले आफू क्यानडा जान लागेको, प्रकृया सजिलाे र विश्वासीलाे भएकाेसमेत बताएपछि ध्रुवले पनि क्यानडाकाे सपना देख्न थाले ।
ध्रुवले आफूले देखेकाे त्याे सपना आधीँखाेला-६ टिकाजाका साथी दिपेन्द्र विकसंग साटे । दिपेन्द्रसमेत स्थानीय एक बाेर्डिङ्ग स्कुलकाे शिक्षण पेशामै थिए । यसरी एकले अर्काे, अर्काेबाट फेरि अर्काे हुँदै क्यानडाकाे सपना देख्नेहरू थपिँदै गए ।
उनीहरू सवैलाइ क्यानडाकाे सपना देखाउने खास व्यक्ति थिए, धिरज कुमार सिंह भनिने धिरज कुमार विश्वकर्मा । उनै धिरजले क्यानडामै भएका नाताले टाढाकाे साला पर्ने काेहि एकजनालाइ देखाउँदै उनीहरू सवैलाइ विश्वासमा लिए । धिरजले क्यानडाकाे ओपन भिसा आएकाे र शुरूकाे प्रकृयाका लागि १ लाख बुझाउनुपर्ने बताए । त्यसकाे बदलामा उनीहरूलाइ धिरजले बैंक तथा सहकारीकाे साेहि रकम बराबरकाे चेक दिने बताएपछि सवै ढुक्क भए र प्रकृया वापतकाे एक एक लाख उनीहरूले धिरलाइ बुझाए ।
नेपालमा क्यानडाको दूतावास नभएका कारण भिएफएस गर्न भारतकाे दिल्ली जानुपर्ने भन्दै बिकले फेरि १ लाख रूपैयाँ बैकमा दाखिला गर्न भने । याे पनि प्रकृया नै भएकाेले उनीहरूमध्ये ५ जनाले एक एक लाख रूपैँया बैकमा जम्मा गरे र दिल्ली पनि गए । दिल्लीमा उनिहरूकाे भिएफएस पनि भयाे । त्यहाँ बुझ्दा भिएफएसपछि अब तपाइहरूलाइ इमेल आउँछ, त्यसपछि दुतावासले बाेलाउँछ र भिसा एप्लिकेसन गर्नुपर्छ भनेर भनियाे । उनीहरू आ-आफ्नाे घर फर्के र दुतावासले बाेलाउने दिन कुरिरहे ।
महिना बित्याे, तीन महिना वित्याे तर दुतावासकाे कुनै इमेल आएन । त्यसपछि अलिअलि उनीहरूकाे मनमा चिसाे पस्याे । उनीहरूले धिरजसंग सम्पर्क गर्ने प्रयास गरे । तर सम्पर्क हुन सकेन । विचमा यदाकदा कहि कतै झुक्किएर फाेन लागिहाले पनि काेभिडकाे कारण देखाएर हुँदैछ मात्र भनियाे । पछि त त्यहि फाेन पनि लाग्नै छाड्याे । तर उनीहरूले राति निद्राबाट ब्युँझिदासमेत लागि पाे हाल्छ कि ! भनेर फाेन गर्न छाडेनन् । क्यानडाकाे आधा सपना र फँसिएकाे त हाेइन ! भन्ने आधा डरकै विच उनिहरू गुज्रिरहे ।
दुतावासकाे इमेल कुरिरहेका उनीहरूले माघ १३ गते एउटा सूचना पाए, क्यानडा लैजान्छु भन्ने धीरजलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । उनीहरु तत्काल पोखरा आए र ७ जना मिलेर जाहेरी दिए ।
प्रहरी कार्यालय आएपछि बल्ल उनीहरुले थाए पाए, ठगिने त आफूहरु ७ जनामात्रै होइन रहेछ । बिकबाट ठगिएको भन्दै प्रहरी कार्यालयमा पुग्नेको ठूलै भीड लागिसकेको थियो । बिक प्रक्राउ परेको जानकारी पाएपछि बिहीबारसम्म ३३ जनाले प्रहरी कार्यालयमा उजुरी दिइसकेका छन् ।
गत माघ १२ गते प्रहरी कार्यालयमा ठाडो उजुरी आएको र त्यसको भोलिपल्ट ठगीको किटानी जाहेरी आएपछि १३ गते बिकलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । प्रक्राउ परेका बिकलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ ।
बिकले क्यानडा पठाइदिन्छु भन्दै ३३ जनाबाट ९० लाख ७१ हजार ५ सय ठगी गरेको उजुरी आएको एसपी श्रेष्ठको भनाइ छ । ‘ठगी मुद्धामा बिकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा धिरजसंग अन्य ३ जनाकाे संलग्नता रहेकाे खुल्न आएकाे र उनीहरूकाे खाेजी भइरहेकाे एवम् साे कार्यमा अरूपनि काेहि संलग्न हुनसक्ने कास्की प्रहरीले अनुमान गरेकाे छ ।
क्यानडा जाने प्रलोभनमा सबैभन्दा बढी स्याङ्जाबाट ठगिएका छन् । त्यस्तै पर्वत, तनहुँ, म्याग्दी र नुवाकोटसम्मका व्यक्तिहरुले ठगी गरेको उजुरी दिएका छन् । पर्वत मोदी गाउँपालिका-७ घर भइ हाल पाेखरा महानगरपालिका-३०, सिशुवा बस्दै आएका धिरजले क्यानडा पठाउने प्रलोभन देखाएर एकैजनासँग १५ लाख रुपैयाँसम्म पनि लिएको आरोप छ ।
धिरज लामो समय साउदी बसेका र करिब २ वर्षअघिमात्रै नेपाल फर्किएका थिए । नीजले डेढ वर्षदेखि क्यानडा पठाउने भन्दै ठगी धन्दा चलाएको खुल्न आएकाे प्रहरीले बताएकाे छ ।
अहिले नीज धिरज विकले बैंककाे चेक लिएर मिल्नका लागि दवाव दिइरहेकाे पिडित दिपेन्द्र विकले बताए । क्यानडाकाे सपना त डुब्याे तर अहिले बुझाएकाे पैसाकाे पिरले पिराेलिएका उनीहरू खाइ नखाइ जिप्रका कास्की वरपर भाैतारिइरहेका छन् । हालसम्म ठगिएका ३३ जनामध्ये ३ जना महिलासमेत रहेका छन् ।
अमेरिका, युरोप भन्नेबित्तिकै केहि नसोची पैसा दिइहाल्ने प्रवृती गलत रहेकाेले ठगी बढेकाे एसपी श्रेष्ठको भनाइ छ । न श्रम स्विकृती लिएकाे छ, न दर्ता भएकाे कुनै संस्था छ, त्यसै बाेलिकाे भरमा पिडितहरूले पैसा बुझाएकाे उनले बताए ।
यी ३३ जना त नीज धिरज विक पक्राउ परेकाे खवर सुनेर उजुरी दिन आइपुग्नेहरूकाे संख्या हाे । के थाहा ? कहिँ, कतै, काेहि अझै दुतावासकाे इमेल पर्खेर बसिरहेका पाे छन् कि !
प्रकाशित मिति २०७७ माघ १५ गते बिहीबार ०९:२२




