करारका अन्य कर्मचारीकाे पनि दिनगन्ति शुरू
पोखरा ।
पोखरा महानगरपालिकाकाे ३७ औं कार्यपालिका बैठकले महानगरमा कार्यरत करारका २८ जना कर्मचारीलाई हटाउने निर्णय गरेको छ । बिहीबार बिहान बसेको ३७ औं कार्यपालिका बैठकले साे निर्णय गरेकाे हाे ।
गत पुष २९ गते बसेको महानगरको २५ औं कार्यपालिकाको निर्णय नं. १० मा प्रदेश लोकसेवाबाट सिफारिस भएर कर्मचारी आएपछि सेवा करार र करारमा रहेका कर्मचारीहरुमध्ये सेवा अवधिको आधारमा सेवा तथा पद तहमा कार्यरत कनिष्ठ कर्मचारीहरुबाट क्रमस हटाउँदै जाने भन्ने निर्णय गरेकाे थियाे ।
महानगरकाे ३७ औं कार्यपालिका बैठकले २५ औं कार्यपालिकाको सर्वसम्मत उक्त निर्णय कार्यान्वयन मात्र गरेकाे एक वडा अध्यक्षले बताए । याे निर्णयले महानगरमा कार्यरत १० जना इन्जिनियर र १८ जना सबइन्जिनियरकाे यहि कार्तिक मसान्तदेखि सेवा समाप्त हुनेछ ।

कर्मचारी व्यवस्थापन सम्वन्धमा २५ औं कार्यपालिका बैठकले गरेकाे निर्णय
कात्तिक पछि सेवाबाट बिदा हुन लागेका कर्मचारीको म्याद भने असार मसान्तसम्मै सकिएको थियो । उनीहरुको करार अवधि कात्तिकसम्ममात्रै थप्ने र त्यसपछि बिदाइ गर्ने निर्णय भएको महानगरले जनाएको छ । ३७ औं कार्यपालिका बैठकले महानगरमै करारमा कार्यरत अन्य कर्मचारीहरूकाे ६ महिना र १० जना इन्जिनियर तथा १८ जना सबइन्जिनियरकाे ४ महिना म्याद थप गर्ने निर्णय गरेकाे हाे ।
उनीहरुलाई नियमानुसार कात्तिकसम्मको पारिश्रमिक र चाडपर्व खर्चसमेत दिएर बिदाइ गरिने महानगरको भनाइ छ ।
त्यस्तै, ५ जना शिक्षिका, २ जना सामाजिक परिचालिका गरी ७ जना कर्मचारीको हकमा भने कार्यालय सहयोगीको जिम्मा दिने भएको छ । कार्यालय सहयोगीको पदमा काम गर्न राजी भएमा ०८१ पुससम्म सेवअवधि थप गर्ने र मञ्जुर नभएमा कात्तिक मसान्तबाटै अवकास दिनेसमेत महानगरले निर्णय गरेको छ ।
बाँकी रहेका अन्य सेवा करार कर्मचारीको भने ०८१ पुससम्म म्याद थप्ने महानगरले निर्णय गरेको छ ।
करार सेवामा कार्यरत महानगरमै कार्यरत अन्य कर्मचारीहरूकाे समेत दिनगन्ति शुरू भएकाे छ । महानगरका अनुसार लाेकसेवासँग कर्मचारी माग गर्दै जाने र साे वमाेजिम पदपूर्ति भएपछि अन्य करारका कर्मचारीकाे समेत म्याद थप हुनेछैन ।
महानगरको प्रशासन शाखाले दिएको जानकारी अनुसार अहिले पालिकामा ११ सय भन्दा धेरै कर्मचारी कार्यरत छन् । तीमध्ये प्रशासनतर्फ १६४ र प्राविधिकतर्फ ३५ जना कर्मचारी करार सेवामा छन् । यता, स्वास्थ्यतर्फ १०९ जना करार सेवामा कार्यरत रहेको महानगरले जनाएको छ ।
अहिले पोखरा महानगरपालिकामा विभिन्न स्थानीय तहमा नियुक्त भएर पोखराकाे काज सरुवा लिएर आएका कर्मचारीकाे हालिमुहाली छ ।
प्रदेशका विभिन्न पालिकाको नियुक्ती लिएर पोखरा महानगरमा अड्डा जमाएर बस्ने कर्मचारीको संख्या महानगरमा झण्डै सय पुगेको छ । हाल महानगरमा तीन महिने कामकाजमा भित्रिएर लामो समयदेखि कार्यरत कर्मचारीको संख्या ९७ पुगेको छ ।
गोरखाको चुमनुव्री गाउँपालिकादेखि मनाङको नार्पाभूमि गाउँपालिकाको नियुक्ती लिएका कर्मचारी बर्षौदेखि पोखरा महानगरमै डेरा जमाएर बसेका छन् । यसरी महानगरमा डेरा जमाउने कर्मचारीहरुमा नबौ तहका सिडीईदेखि सहायकस्तर चौथो तहका कर्मचारीसम्म छन् ।

काज सरूवासँग सम्वन्धित २५ औं कार्यपालिका बैठकको निर्णय
महानगरको २५ औं कार्यपालिका बैठकको निर्णय नं २६ मा स्पष्ट रुपमा अर्को व्यवस्था नभएसम्मका लागि काज सरुवा नदिने भन्ने निर्णय गरेको छ । तर, महानगरले यसपछिको मितिमा समेत कामकाजमा आएका कर्मचारीलाई भित्र्याएर कार्यपालिका बैठकको निर्णयकै धज्जि उडाएको छ ।
महानगरका सुचना अधिकारी कृष्ण तिवारीले काज सरुवाको स्वीकृति दिने काम प्रमुख प्रशासकीय अधिकृत र मेयरको भएको जनाए । आफुँले स्वीकृति पाएकालाई हाजिर गराउनु भन्ने आदेशको पालना मात्र गरेको उनको भनाई छ । काज सरुवा फिर्ता गर्न तथा थप काज सरुवा नपठाउन आफुँहरुले गत पुषमा नै प्रदेशको मुख्यमन्त्रीको कार्यालयलाई पत्राचार गरेको भएपनि कुनै सुनुवाई नभएको उनले बताए ।
प्रकाशित मिति २०८१ कात्तिक १५ गते बिहीबार ०२:२८




