२०८३ साउन २१ गते बिहीबार

पुननिर्माणमा पालिकाको सकस

पुननिर्माणमा पालिकाको सकस

मन क्षेत्री

@Public 4K Tv

२०७७ माघ १८ गते आइतबार ०४:१८

पोखरा । भूकम्पपछिको पुननिर्माणमा कास्कीका पालिकाहरुले सकस व्यहोर्नुपरेको बताएका छन् । निजी आवाससहित पुननिर्माणका चालु कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्वन्धमा आयोजित जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा अवसरमा कास्कीका...

प्राविधिक कर्मचारीकाे संख्या कम भएकाे गुनासाे

पोखरा । भूकम्पपछिको पुननिर्माणमा कास्कीका पालिकाहरुले सकस व्यहोर्नुपरेको बताएका छन् । निजी आवाससहित पुननिर्माणका चालु कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्वन्धमा आयोजित जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा अवसरमा कास्कीका पालिकाहरुले सो कुरा बताएका हुन् ।

पोखरा महानगरपालिकाका ईञ्जिनियर मोहन सिग्देलले निजी आवासको पुर्ननिर्माणमा अनेक समस्या रहेको उल्लेख गर्दै महानगरका ३३ वडामा जम्मा २ जना ईञ्जिनियरले सेवा दिनुपर्दा भ्याई नभ्याई भएको बताए । ‘भूकम्प जाँदा गाविसमा रहेका सेवाग्राहीलाई महानगरमा गाभिएपछि अभिलेखिकरण, नक्शापास आदी प्रकृयामा ल्याउनै सकस परेको छ ।’ उनले भने ।

महानगरकै अर्का ईञ्जिनियर विशाल बरालले धेरै सेवाग्राहीले भूकम्पपछि लगत्तै घर बनाएको तर कम प्रभावित जिल्लाहरुमा पछि मात्र प्राधिकरण आएका कारणपनि अप्ठ्यारो परेको गुनासो गरे । ‘मानिसहरुले तत्काल घर बनाए तर ती घरहरु अहिले मापदण्डमा छैनन् । पुननिर्माणका लागि उनिहरुले निवेदन दर्ता गरेका छन् । अब उनीहरुलाई कसरी सिफारिस गर्ने ? उनले प्रश्न गरे ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले पुननिर्माणका लागि प्राधिकरणले व्यवस्था गरेका प्राविधिकहरुको संख्या अत्यन्त कम भएको गुनासो गरे । एक गाउँदेखि अर्को गाउँ पुग्नै दिनभर लाग्ने अवस्थामा २ जना प्राविधिकले कसरी काम गर्ने ? उनले प्रश्न गर्दै भने–‘ कम्तिमा पनि अझै २ जना प्राविधिक थप्नुपर्छ ।’ उनले अन्नपूर्णमा भूमिहिन प्रभावितहरुको सन्दर्भमा पुननिर्माण अझै अप्ठ्यारो रहेको उल्लेख गरे ।

यस्तै, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले प्राविधिकहरु थोरै भएका कारण फोनका भरमा घर बनाउनुस् भन्नु परेको बताए । उनले मापदण्डको सकस, विभिन्न कागजातको झण्झट आदीजस्ता कुराहरुले प्रभावितलाई सहज सेवा प्रदान गर्न नसकिएको स्वीकार गरे ।

माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङ्ले प्राधिकरणले तोकेको समयसिमा र खटाएका प्राविधिकरुको संख्याका विच तालमेल नमिलेको उल्लेख गरे । ‘सिङ्गो गाउँपालिकाका लागि २ जना ईञ्जिनियर पठाउने अनि यो मितिसम्म सक्नैपर्छ भन्ने भनाईले पिडितको सेवा प्रभावित भएको छ ।’ उनले भने ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण कास्कीका प्रमुख नवराज पराजुलीले कास्कीमा ६१ प्रतिशत पुननिर्माणमा र ५५ प्रतिशत प्रवलीकरणमा प्रगति भएको बताए । निजी आवासका लागि सरकारले मंसिरसम्म पहिलो किस्ताको सम्झौता गर्नुपर्ने उल्लेख गरेको थियो । सोही बमोजिम धेरै सेवाग्राहीले पहिलो किस्ता लगिसकेका छन् । दोस्रो किस्ताका लागि सेवाग्राहीले माघ मसान्तसम्म निवेदन दिइसक्नुपर्ने र बैशाखसम्म घर सम्पन्न गरेको कागजात पेश गरेर तेस्रो किस्ताको प्रकृयामा जानुपर्ने पराजुलीले बताए ।

कार्यक्रमका अवसरमा बोल्दै राष्ट्रीय पुननिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. विष्णुबहादुर भण्डारीले प्राधिकरणले पुननिर्माण गर्ने भनेको घर बनाउने मात्र नभएर भूकम्प प्रतिरोधी घर बनाउने भनेको हुँदा सोही अनुरुप बुझ्न सवैलाई आग्रह गरे । ‘प्रभावितहरुसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले पालिकाहरुलाई यसको सकस छ, तर नीति, नियमको दायरामा रहेर काम गर्नुको विकल्प छैन् ।’ उनले भने ।

पहिलो किस्ता लगेर नियमपूर्वक काम नभएकाहरुमध्येबाट प्राधिकरणमा करिब १० करोड रकम फिर्ता भइसकेको उल्लेख गर्दै ‘एकातिर पैसा फिर्ता हुन थालेको छ भने अर्कोतिर करिब ३५ हजार पुनरावेदन परेको छ ।’ उनले भने ।

प्रकाशित मिति २०७७ माघ १८ गते आइतबार ०४:१८

हजुरको प्रतिक्रिया