गोरखा ।
गोरखामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि रणनीतिक योजना निर्माण गर्न ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१’ हुने भएको छ ।
नेपाल होटल संघ गोरखाको आयोजनामा जिल्लामै पहिलो पटक गोरखाको प्राकृतिक, धार्मिक, साँस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक सम्पदाको प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित उक्त कार्यक्रम आयोजना गर्न लागिएको संघले शनिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
यही मङ्सिर ५ र ६ गते आयोजना गर्न लागिएको भेलामा गोरखामा जन्मिएर जिल्ला सहित देशका विभिन्न ठाउँमा पर्यटन व्यवसायमा आवद्ध व्यवसायिको सहभागिता रहने संघका जिल्ला अध्यक्ष केशव कुँवरले जानकारी दिए ।
‘गोरखा नगरपालिकाले समेत जिल्लामा पर्यटक भित्र्याउन आउँदो पुस २५ गतेदेखि पर्यटन वर्ष घोषणा गरेर कार्यक्रम गर्न लागेको छ,’ अध्यक्ष कुवँरले भने, ‘त्यसलाई सहयोग पु¥याउँन संघले पनि व्यवसायीको बृहत भेला गर्न लागेको हो ।’
भेलामा १५० भन्दाबढी पर्यटन व्यवसायी सहित गोरखा क्षेत्र नम्बर २ प्रतिनिधिसभाका सांसद एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईका साथै गोरखाबाट निर्वाचित संघ तथा प्रदेशसभाका सांसदलगायतको पनि सहभागिता रहने संघले जनाएको छ ।
सोही अवसरमा थप पर्यटकीय क्षेत्रको पहिचानका लागि जिल्ला भित्रका ११ वटै स्थानीय तहले प्रमुख पर्यटकीय क्षेत्रका बारेमा सम्बन्धित पालिकाका प्रतिनिधिबाट जानकारी दिइने र श्रव्य एवं दृश्यको समाग्री निर्माण गरि प्रस्तुत गर्ने कार्यक्रम समेत तय गरिएको कार्यक्रम संयोजक विष्णु प्रसाद तिमिल्सिनाले जानकारी दिए ।
‘गोरखामा पर्यटकलाई आर्कषण गर्न सक्ने थुप्रै ठाउँ भएपनि यथोचित हिसावले प्रचार गर्न अझै सकिएको छैन,’ संघका महासचिव सुमन श्रेष्ठले भने, ‘गोरखाले ती पर्यटकीय क्षेत्रको भरपुर उपयोग गरेर लाभ लिनसके यहाँको आर्थिक सम्बृद्धिमा नयाँ फड्को मार्न सकिन्छ भन्ने विश्वास छ ।’
दुई दिने भेलाले जिल्लाका पर्यटकीय क्षेत्रको प्रर्वद्धन हुने पर्यटकको बसाई लम्वाउन मद्दत पुग्ने, मनास्लु संरक्षण क्षेत्र गोरखा भएर जान पहल गर्ने तथा गोरखाको रैथाने खाना तथा संस्कृतिलाई जगेर्ना गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।
प्रकाशित मिति २०८१ मंसिर २ गते आइतबार ०३:३३




