न्यूज एजेन्सी\सिन्ह्वा
दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा हिजो बिहान गएको ६.८ म्याग्निच्युडको भूकम्पबाट हालसम्म १२६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
भूकम्पमा परेर अहिलेसम्म १८८ जना घाइते भएका छन् । बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रबिन्दु सिगाजे सहरको डिंगी काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो ।
भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिव ६ हजार ९ सय मानिस रहेका छन् । प्रारम्भिक सर्वेक्षणले ३ हजार ६०९ घरहरू भत्किएको देखाएको सिगाजेको सरकारले बताएको छ ।
भूकम्पले हिमालयको उत्तरी भेगमा रहेका हजारौं ग्रामीण घरलाई ध्वस्त बनाएको छ ।
चार सय सात जना फसेका मानिसहरूलाई उद्धार गरिएको र ३० हजार भन्दा बढी प्रभावित बासिन्दाहरूलाई स्थानान्तरण गरिएको छ ।
चीनका केन्द्रिय अधिकारीहरूले भूकम्प प्रभावित क्षेत्रमा करिव २२ हजार विपद् राहत सामग्रीहरू पठाएका छन् ।
जसमा सुती पाल, शीतकालीन कोट, रजाई र फोल्डिङ बेडहरू र उच्च उचाइ र चिसो क्षेत्रका लागि विशेष राहत सामग्रीहरू छन् ।
सो क्षेत्रमा अग्नि नियन्त्रक, सिपाही, प्रहरी अधिकारी र पेशेवर उद्धारकर्ताहरूसहित १२ हजार भन्दा बढी उद्धारकर्ताहरू भूकम्प स्थलमा खटाइएको छ ।
प्रकाशित मिति २०८१ पुस २४ गते बुधबार ०९:१२




