२०८३ असोज २३ गते शुक्रबार

सिजनमै धर्मरायो पोखराको पर्यटन

सिजनमै धर्मरायो पोखराको पर्यटन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख ११ गते शनिबार ०६:२८

‘घरभाडा, मजदुरको तलब, बैंकको ऋण लगायतका सवालको व्यवस्थापन कसरी गर्ने भन्ने व्यवसायी साथीहरुलाई चिन्ता छ ।’

यहाँको पर्यटन उद्योग अहिले ८० प्रतिशत डाउन भईसक्यो

पोखरा

गण्डक क्षेत्रमा शुक्रवार विहानैदेखि हिमालहरु धक फुकाएर खुले । यहाको सामाजिक मनोविज्ञान के छ भने, हिमालहरु निर्धक्क खुलेभने जस्तोसुकी पीडा पनि भुलिन्छ । पोखरा र आसपासका बासिन्दा पनि खुलेको हिमालसँगै रमाए ।

तर यहाँका पर्यटन व्यवसायीको मन भने हिमाल जसरी खुल्न सकेन । जसरी अरु मानिसहरुको मन रमायो, उसरी नै पर्यटन व्यवसायीको मनमा चिन्ता र डरको तुँवालो मडारिरहेको छ ।

साँझ परेपछि सधैं गुलजार हुने पोखराको लेकसाईड क्षेत्रमा घाम अस्ताउने वित्तिकै सन्नाटा छाउँछ, यहाँका दोहोरी, डिस्कोथेक, पव, गजल रेष्टुरेण्टहरु थिए की थिएनन् भन्ने अवस्थामा पुगेका छन् । लेकसाईडमा अहिले चलहपलहको ध्वनी होईन, पुलिसको सिठ्ठीको आवाज सुनिन्छ ।
कोराना सँक्रमणको दोस्रो लहरले यहाँको पर्यटन व्यवसाय अहिले धर्मराएको अवस्थामा छ । पर्यटन व्यवसायीहरुको छाता सँस्था पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराई भन्छन्, ‘यहाँको पर्यटन उद्योग अहिले ८० प्रतिशत डाउन भईसक्यो ।’ अहिले पोखरका पर्यटन व्यववसायीहरु खोल्नका लागि व्यवसाय खोलेर बसेका छन् । ‘अब बन्द गरेर पनि विकल्प त छैन ।’ भट्टराईले भने ।
अ

हिले पर्यटनकको सिजन हो । तर सिजनमै ८० प्रतिशतसम्म व्यापार उँधो लाग्दा यहाँका पर्यटन व्यवयासीहरु चिन्तित छन् । ‘घरभाडा, मजदुरको तलब, बैंकको ऋण लगायतका सवालको व्यवस्थापन कसरी गर्ने भन्ने व्यवसायी साथीहरुलाई चिन्ता छ ।’ उनले भने ।

कोरोनाको पहिलो लहर आएको बेला गत वर्ष पनि सिजनमै सरकारले लकडाउन गर्यो । २०७७ असोज १५ गतेदेखि लकडाउन खोलिएपछि यहाँका होटलको अकुपेन्सी १० देखि १५ प्रतिशतसम्म पुगेको थियो । तर फेरी भारत हुँदै नेपालमा कोरोनासँक्रमण ह्वात्तै बढेपछि होटलको अकुपेन्सी ५ प्रतिशत भन्दा तल झरेको छ ।

‘अहिले पोखराको पर्यटन व्यवसायमा ३५ हजार भन्दा बढी मजदुर आश्रित छन् । अब व्यवसाय नचलेपछि उनीहरुको भविष्य के हुन्छ ?’ भट्टराईले चिन्ता व्यक्त गरे ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले होटलहरुको बुकिङ् धमाधम रद्ध भईरहेको जानकारी दिए । ‘केही सेमीनार र सँस्थागत भ्रमणका बुकिङ्हरु आएका थिए, ती सबै रद्ध भएका छन् ।’ उनले भने ।

यस क्षेत्रको पर्यटनमा प्रमुख मानिने पदयात्राको हालत पनि उस्तै छ । यस क्षेत्रका प्रमुख पदयात्रामार्गहरु अहिले सुनासान छन् । लकडाउन खोलिएपछि केही आन्तरिक पर्यटकले यहाँका पदयात्रा मार्गलाई तंग्राउन खोजेका थिए । तर कोरोना सँक्रमण एकाएक वढ्न थालपछि पदयात्रा पर्यटन पनि धर्मराएको छ ।

‘खासगरी पर्वतारोहण र साहसिक पर्यटनको सिजन हो, केही माउण्टेनियरिङ् ट्रेकको बुकिङ् हुनेवाला थियो, त्यो पनि सकियो ।’ ट्रेकिङ् एजेण्ट्स एशोसिएसन अफ नेपाल पोखरा च्याप्टरका अध्यक्ष शुसीलराज पौडेलले भने ।

अन्नपूर्ण, मनास्लु फेरो, धौलागिरी र मर्दि हिमाल रुट गण्डकी प्रदेशका ठुला पदयात्रा मार्ग हुन् । अन्य साना र छोटा पदयात्रा मार्गहरु यिनैसँग जोडिएर निर्माण भएका छन् । यि पदयात्रा मार्ग कोरोनाको चपेटामा परेपछि यो पर्यटनसँग आवद्ध गाईड, भरिया तथा उनीहरुको परिवार साथै पदयात्रा मार्गमा सञ्चालन भएका होटल तथा टि हाउसहरु पनि थलिएको अवस्थामा रहेको पौडेलले जानकारी दिए ।

सरकारले घोषणा गरेरै लकडाउन नगरेको भएपनि पर्यटन व्यवसायीहरुलाई भने लकडाउन जस्तै भएको छ । कोरोनाको पहिलो चरणमा त उनीहरुले जसोतसो थेगे, अब यो अवस्था लम्बियो भने थेग्न सकिने अवस्था नरहेको उनीहरुको भनाई छ ।

‘अब विशुद्ध पर्यटन व्यवसाय मात्रै गरेर नहुँदो रहेछ भन्ने, व्यवसायीहरुमा परिसक्यो, मजदुहरुमा पनि यो क्षेत्रमा भविष्य छैन भन्ने मानासिकता विकास हुँदै गएको छ ।’ परिषद अध्यक्ष भट्टराई भन्छन्, ‘यसै त पर्यटन क्षेत्रमा मानव संसाधान अभाव छ, त्यसमा पनि अहिलेको महामारीका कारण मजदुहरुले छोडेर जाने, अनि नफर्किने अवस्थामा पोखराको पर्यटन उद्योगको हालत कसैले आँकलन गरेको छैन ।’

प्रकाशित मिति २०७८ वैशाख ११ गते शनिबार ०६:२८
हजुरको प्रतिक्रिया