गोरखा ।
गोरखाको पालुङ्गटार नगरपालिकामा तेस्रो लिगलिग पालुङ्गटार महोत्सव–२०८१ हुने भएको छ ।
‘ऐतिहासिक लिगलिग पालुङ्गटारको पहिचान–कृषि, पर्यटन, उद्योग तथा व्यापार प्रवद्वन मुल अभियान’भन्ने नाराका साथ लिगलिग पालुङ्गटार उद्योग वाणिज्य संघले आगामी माघ २४ गतेदेखि फाल्गुन ४ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको हो ।
मुख्य प्रायोजक पालुङ्गटार नगरपालिका र सह–प्रायोजक १० वटै वडा रहेको महोत्सवमा नगरपालिकामा भएका कृषि, धार्मिक तथा पर्यटक स्थलको झझल्को दिने गरी लिगलिग पालुङ्गटार महोत्सव–२०८१ महोत्सव हुने भएको हो ।
महोत्सवमा स्थानीय, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरु बाट उत्पादित विविध वस्तु साथै कृषि र हस्तकलाका सामानको प्रदर्शनी र बिक्री गरिने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
पालुङ्गटार नगरपालिकाका व्यापार र सम्बन्धित व्यवसाय तथा व्यवसायीको सर्वोत्तम हित र कल्याणको साथै पालुङ्गटार नगर क्षेत्रका आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याइ नगरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षहरुको व्यापक प्रचार प्रसारका लागि यो महोत्सव आयोजना गरेको लिगलिग पालुङ्गटार उद्योग वाणिज्य संघका अध्यक्ष मान बहादुर आले मगरले जानकारी दिए ।
मेलामा कुल १ सय २० स्टल राखिने भएको छ । २५ लाख अनुमानित खर्च गरी स्थानीय र बाह्य गरी २५ हजार अवलोकनकर्ता सहभागी गराउने लक्ष्यसहित स्थानीय उत्पादनका सयवटा र कृर्षि उपजका २० वटा स्टल राखिने संघका अध्यक्ष आलेले बताए । प्रवेश शुल्क १००, जसमा विद्यार्थीहरुका लागि ७० र ७० वर्ष उमेर माथि र अपाङ अशक्त व्यक्तिहरुलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिने छ ।
महोत्सव सफल पार्न २५ सदस्यीय मूल आयोजक समिति गठन गरि तयारी भइरहेको छ ।
प्रकाशित मिति २०८१ माघ ९ गते बुधबार ०७:३५




