कोरोनाको सचेतना भन्दै मन्त्रालयको खर्चमा दोहोरी साँझमा कार्यक्रम
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले बुधबार ३० अप्रिलसम्मलाई सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ ।
निर्णयको २ नं. बुँदामा ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने भनिएको छ ।
यता, संघीय, प्रदेश र स्थानीय सरकार भिडभाड नहोस भन्ने उद्दे्श्य अनुरुप काम गर्दै अघि बढिरहेको भएपनि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय भने उल्टो बाटो हिँडेको छ । मन्त्रालयकै खर्चमा एउटा दोहोरी साँँझमा कोरोना भाईरस रोकथामको लागी सचेतना मुलक भन्दै मन्त्रालयले लोक दोहोरी कार्यक्रमको आयोजना गरेको छ ।
चैत्र ५ गते बिहान ८ बजे सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश सरकारको सहयोगमा राष्ट्रीय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गण्डकी प्रदेश कार्य-समिती को व्यवस्थापनमा, पोखरा-१७ बिरौटास्थित रिमझिम दोहोरी साँझमा सो लोकदोहोरी कार्यक्रम सम्पन भएको हो । सचेतनामुलक लोक दोहोरी गीतको छाँयाड्कन गर्ने र सो सामाग्रीलाई सचेतनाका लागि प्रशारण गर्ने उद्देश्यले आयोजना गरिएको भएपनि भिडभाडमुक्त अवधारणाभन्दा बाहिर भिडभाडयुक्त कार्यक्रममा मन्त्रालय आफै अघि सर्नु सान्दर्भिक देखिँदैन ।
कार्यक्रममा बढी भन्दा बढी मानिसहरुको उपस्थितिका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङ्ले आफ्नाे फेसबुकमा लेखेका छन् । ‘नमस्कार, ०७६/ चैत्र ५ गते आज बिहान ८ बजे बाट सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश सरकार को सहयोग , र राष्ट्रीय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गण्डकी प्रदेश कार्य-समिती को व्यवस्थापन मा , रिमझिम दोहोरी साँझ पोखरा-१७ बिरौटा मा कोरोना भाईरस रोकथाम का लागी सचेतना मुलक लोक दोहोरी को छाँयाड्कन हुदैछ सबैलाई निमन्त्रणा ।।। साथै सो गितको छाँयाड्कन पछी लगत्तै भरपुर संगितको प्रस्तुति “रमाईलो रिमझिम लोक दोहोरी” को प्रतक्ष्य दोहोरी को घम्सा घम्सी हुने भएकोले सुन्न, हेर्न, गाँउन र नाच्न ईच्छुक महानुभाव हरूमा हार्दिक निमन्त्रणा गरिन्छ ।।। पुनश्च:- प्रतिष्ठान का केन्द्रीय अध्यक्ष श्री रमेश बि जी ज्यू लगायत केन्द्रीय पदाधिकारी ज्यू हरूको समेत उपस्थिति रहने छ।।




