पोखरा ।
गण्डकी प्रदेश सभाका सदस्यहरुका लागि खानेपानी सरसफाइ तथा स्वाच्छता साथै आयोजना बैंक सञ्चालन सम्बन्धी कार्यशाला पोखरामा सम्पन्न भएको छ ।
उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकीको आयोजनामा भएको कार्यक्रममा सम्बन्धीत क्षेत्रका विज्ञले प्रस्तुती राखेका थिए । कार्यक्रममा बोल्दै उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले संघीय सरकार मार्फत सुरुवात भएका योजनामा बजेट काटौतीका कारण समस्या सृजना भएको बताए । उनले सुरु भएको योनजा सम्पन्न गर्ने तर्फ मन्त्रालयले ध्यान दिने जानकारी दिए ।
प्रदेश नीति तथा योजना आयोग, गण्डकीका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले बजेटको सिमितताले चालु आयोजना सम्पन्न गर्न चुनौती खडा भएको बताए । उनले दिगो विकास लक्ष्य प्राप्तीका लागि दोस्रो पञ्चवर्षीय योजना कार्यान्वयनमा रहेको र योजना बैंक मार्फत योजना छनोट गर्ने तयारी रहेको जानकारी दिए ।
मन्त्रालयका सिडिई नविन अर्यालले गण्डकी प्रदेशको वर्तमान अवस्था, सरसफाइ क्षेत्रको प्रगति र आगामी कार्यदिशाबारे प्रस्तुती राख्दै ९५ प्रतिशत जनसंख्यामा आधारभुत खानेपानी सेवा, ६५ प्रतिशत निजि धारा, ८० प्रतिशत जनसंख्या सुधारिएको सरसफाइ सेवा रहेको जानकारी दिए । प्रदेश स्थापना भएपछि ११ हजार खानेपानी आयोजना सम्पन्न भएको अर्यालले जानकारी दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. राजन भट्टराई, युनिसेफ नेपालका मुहम्द इरफान सईद अलराई, खानेपानी तथा ढल व्यवस्था विभागका डा. रजित ओझा, प्रदेश नीति तथा योजना आयोग, गण्डकीका उपसचिव ढाकाप्रसाद शर्मा, प्रशासन विज्ञ काशीराज दाहालले प्रस्तुती राखेका थिए ।
यस्तै गण्डकी प्रदेश सभा सदस्यहरुले खानेपानी आयोजना सम्पन्न गर्न प्रर्याप्त बजेटको व्यवस्था गर्न माग गरे । योजना छनोट देखि कार्यान्वयमा सरकारको ध्यान जान नसकेको भन्दै प्रदेस सभा सदस्यहरुले सरकारलाई सचेत गराएका थिए ।
प्रकाशित मिति २०८१ फागुन २१ गते बुधबार ०६:११




