काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पुँजी बजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित हुन नसक्ने बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राष्ट्रिय उत्पादनको १३ प्रतिशत हिस्सा ओगटेको कृषिमा आधारित अर्थतन्त्रको उत्पादकत्व पाँच प्रतिशतमा घटेका उनले बताए ।
उनले उद्योगमा लगानी गर्न कठिन र जोखिम भएको भन्दै हिजोका दिनमा नेपालको ब्राण्डको रुपमा स्थापित पश्मिना, गार्मेन्ट, गलैँचा लगायतका उद्योगहरु बन्द भएको उल्लेख गरे । छिमेकी मुलुकले लगानी गरेका जुट मिललगायतका संस्थाहरु धराशायी हुनुको कारण खोज्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘जबसम्म नेपालको पूँजी बजार चलायमान हुँदैन तबसम्म नेपालको श्रम शक्तिलाई व्यवस्थित गर्न सकिँदैन । यसैले पहिलो कुरा नेपालको पूँजी बजारमा निजी क्षेत्रको जुन आज उपस्थिति छ त्यो उद्योगसँग व्यापारसँग ड्रेडसँग जोडिएका सन्दर्भहरु छन् । आजको व्यापार असन्तुलनको पनि चर्चा भयो । हाम्रो व्यापार बढाउन सकेनौँ भने, उत्पादक उत्पादकत्व वृद्धि हुन सकेन । हामीले वस्तुहरु आयात गरी रहेका छौँ । हाम्रो सम्भावनाको क्षेत्र कृषिमा आधारित अर्थतन्त्र आज नेपालमा उद्योगको जिडिपीमा हिजो १३ प्रतिशतको योगदान थियो भने आज त्यो घटेर पाँच प्रतिशतमा आएको छ । उद्योग सञ्चालन गर्न कठिन र जोखिम छ । त्यही जोखिम हिजोका हाम्रा विरासतहरु नेपालको ब्राण्डको रुपमा स्थापित पश्मिना, गलैँचा तथा गार्मेन्ट, जुट मिललगायतका उद्योगहरु बन्द भए । छिमेकी मुलुकले लगानी गरेको विभिन्न संस्थाहरु धरासायी भयो । यस्तो किन भयो त्यसको कारणको खोजी गर्नुपर्ने छ ।’
मन्त्री मण्डारीले उद्योग र उद्यमशीलताका बारेमा सरकारले गरेको नीतिगत सुधारले आशा जगाएको बताए । उनले रोजगारी ग्यारेन्टी गर्ने तथा उद्यम र उद्यमशीलतालाई प्रोत्साहन गर्ने खालको विषय आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने उल्लेख गरे ।
बेरोजगारीका कारण युवामा देखिएको निराशालाई आशामा बदल्ने गरी सरकारले गरेको नीतिगत सुधारलाई निजी क्षेत्रले स्वागत गरेको उनले दाबी गरे ।
उनले भने, ‘आजको उद्योग, उद्यमशिलताका बारेमा आजको सरकारले नीतिगत सुधारका थुप्रै आयामहरु जुन निजी क्षेत्रले स्वागत गरेको छ । आज त्यसले एउटा नयाँ गति पैदा भएको छ । त्यस्को अझ राम्रो प्रतिविम्व आगामी आर्थिक वर्षको बजेटबाट झल्किने छ । जहाँ रोजगारीको ग्यारेन्टी गर्ने कुरा, उद्योग उद्यमशीलता जोडिने कुरा त्यसलाई प्रोत्साहित गर्नेकुरा र आजका राजनीतिका थुप्रै कार्यभारका दायित्वहरुलाई पूरा गर्नुपर्ने छ । विद्यमान निराशालाई चिर्नुपर्ने छ । त्यो निराशालाई आशामा बदल्नुपर्नेछ ।’
मन्त्री भण्डारीले नेपालको पुँजी बजार, श्रम बजारसँगको नेपालको उत्पादन र नेपालको रोजगारीलाई जोड्नसके आन्तरिक रोजगारीका प्रश्नलाई समाधान गर्न सकिने बताएका छन् ।
प्रकाशित मिति २०८१ फागुन २६ गते सोमबार ०३:११




