२०८३ असोज २६ गते सोमबार

श्रमको व्यवस्थापन गर्न नसक्दा मुलुक वैदेशिक रोजगारीको चपेटामा पर्‍योः श्रममन्त्री

श्रमको व्यवस्थापन गर्न नसक्दा मुलुक वैदेशिक रोजगारीको चपेटामा पर्‍योः श्रममन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २६ गते सोमबार ०४:४९

उनले सरकारले रोजगारीको सिर्जना र श्रम शक्तिको उचित मूल्याङ्कन गरी निराशा चिर्ने दाबी गरे ।

काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा श्रम बजारको व्यवस्थापन गर्न नसक्दा युवा जनशक्ति वैदेशिक श्रम बजारको चपेटामा परेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बाध्यात्मक रुपमा वैदेशिक रोजगारमा जानुपर्दा युवामा विकृतिसमेत आएको बताए ।

उनले आगामी दश वर्षभित्र मुलुकमै रोजगारीको सुनिश्चित गर्न उद्यमशीलता र उत्पादकत्व वृद्धि गरी श्रम बजारको व्यवस्थापनको शुरुवात भएको उल्लेख गरे ।

नेपाली युवामा देखिएका अधिकांश निराशा रोजगारसँग सम्बन्धित रहेको भन्दै उनले सरकारले रोजगारीको सिर्जना र श्रम शक्तिको उचित मूल्याङ्कन गरी निराशा चिर्ने दाबी गरे ।

उनले भने, ‘अहिलेको अवस्थामा मुलुकमा छाएको एक खालको जुन निराशा छ, यो विशेष गरेर रोजगारसँग जोडिएको छ । मुलुकमा हरेक वर्ष असाध्यै शक्तिशाली श्रमशक्ति मुलुकको श्रम बजारमा आउँदैछ । तर त्यो श्रम बजारको व्यवस्थापन हामीले गर्न सकिरहेका छैनौँ । जस्को कारणले हामी बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारको चपेटामा परेका छौँ । जसले विभिन्न किसिमका विकृतिहरु पनि जन्माएको छ । अब त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि कि नोट स्पिचमा आएको छ । वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित गर्दै अगाडि जाने र आगामी दश वर्षमा के गर्ने त ? आगामी दश वर्षमा मुलुकको उद्यमशीलताका आधारमा उत्पादकत्वलाई वृद्धि गर्दै मुलुकमा रोजगारीको अवस्था सिर्जना गर्दै श्रमिकलाई पनि न्यायोचित हिसावले उसको श्रम शक्तिको मूल्यांकन हुने त्यसको वेजेजहरुलाई अगाडि बढाएर र मर्यादित र सुरक्षित तवरले फर्काएर ल्याएर मुलुकलाई अगाडि बढाउन यसलाई पुनःस्थापना गर्ने लक्ष्य सहितको यात्रा आजबाट शुरुवात गरेका छौँ ।’

मन्त्री भण्डारीले नेपालको श्रम रोजगार तथा आर्थिक गतिविधिको क्षेत्रमा नयाँ कोशेढुङ्गाको शुरुवात भएको बताए ।

विदेशमा सिकेका सीप र संस्कारलाई नेपालमा भित्र्याएर उत्पाकत्व वृद्धि गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति २०८१ फागुन २६ गते सोमबार ०४:४९

हजुरको प्रतिक्रिया