राजमाे र जसपा महन्त पक्षकाे समर्थन पत्र प्रदेश प्रमुखसमक्ष पेश
पाेखरा । गण्डकी प्रदेशमा बैकल्पिक सरकार गठनका लागि बहुमत सदस्यकाे हस्ताक्षर प्रदेशप्रमुख समक्ष बुझाएर नयाँ सरकारकाे तयारी गरिरहेका विपक्षी गठबन्धनलाई फेरि अर्काे झटका लागेकाे छ । राष्ट्रिय जनमाेर्चा र जनता समाजवादी पार्टीकाे समर्थनको पत्रसहित गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेपछि गठबन्धनलाईअर्काे झटका लागेकाे हाे ।
गुरूङले जनमाेर्चाका कृष्ण थापाकाे पत्र र जसपाको महन्थ ठाकुर पक्षको पत्रसहित दाबी गरेका छन् । तर, जनता समाजवादीका सांसदहरूले भने आफूहरूको समर्थन विपक्षीलाई रहेको बताइरहेका छन् । बाबुराम भट्टराई निकट ती सांसदहरूले आफूहरूले विपक्षी गठबन्धनलाई नै साथ दिने बतएका छन् । यद्यपी जनता समाजवादीको महन्त पक्षको प्रदेश समितिले मुख्यमन्त्रीमा पृथ्वीसुब्बालाई साथ रहेको पत्र प्रदेश प्रमुखलाई दिएको थियो ।
विश्वासको मत दिने बेलामा तटस्थ बसेका जनमोर्चा सांसद कृष्ण थापाले आफ्नो साथ अहिलेकै सरकारलाई रहेको बताएको भन्दै दाबी पेस गरेका हुन् । पार्टीले आफूलाई गरेको कारबाही गैह्रकानुनी भएको भन्दै उनले मुख्यमन्त्रीमा गुरूङलाई समर्थन गर्ने बताएका हुन् ।
२७ गते विश्वासकाे मत नपाएका गुरूङले अहिले फेरि मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।
यसअघि नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नाे पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा श-शरीर उपस्थित गराई मुख्यमन्त्रीकाे दाबी गरिसकेका छन् । जेष्ठ २७ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख सिता कुमारी पौडेलले सनिबार तीन बजेसम्मको समय दिएकी थिइन् ।
गठबन्धनले हिजो नै मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरे पनि प्रदेश प्रमुख पौडेलले तोकिएको समय सीमासम्म अध्ययन गर्ने बताएकी थिइन् ।
प्रकाशित मिति २०७८ जेठ २९ गते शनिबार ०५:०४




