शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालयको रुपमा स्थापित गर्नेगरी कानून बनाउन सुझाव दिएकी छिन्।
सोमवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयमाथिको दफावार छलफलमा सहभागि हुँदै मन्त्री भट्टराईले यस्तो सुझाव दिएकी हुन्।
उनले विधेयकलाई विश्वविद्यालयहरूमा देखिएको क्यालेण्डर, जनशक्ति व्यवस्थापन र विश्वविद्यालयको जिम्मेवारीका विषयमा स्पष्ट व्यवस्था गर्नुपर्ने बताइन्।
उनले पछिल्लो समय विश्वविद्यालयमा हुने झैझगडा र तालाबन्दीको समस्या पेचिलो बन्दै गएको समेत बताइन्। यस विषयको समाधानसहित विधेयक अगाडि बढाउनुपर्नेमा उनको जोड छ।
उनले भनिन्, ‘हामीले यो विश्वविद्यालयलाई अहिलेसम्मका विश्वविद्यालय र अब बन्ने विश्वविद्यालयमा समेत एउटा मानक स्थापित गर्नसकौं । अहिले विश्वविद्यालयभित्र तीनवटा समस्याहरु रहेका छन् । एउटा क्यालेण्डरको कुरा, अर्को त्यहाँभित्रको जनशक्ति व्यवस्थापनको कुरा र लिडरसिप कसले लिने र विश्वविद्यालयको जिम्मेवार को हुने भन्ने कुरा । अहिले सबैभन्दा पेचिलो विषय भनेको विश्वविद्यालयमा हुने तालाबन्दी, त्यहाँ हुने झैझगडा तथा संस्कारजन्य कुरमामा हामी कसरि जाने भन्ने विषयमा हामी जानैपर्छ । यो विषयलाई समेत विधेयकमा समेटेर जानको लागि म यहाँ अनुरोध गर्न चाहन्छु ।’
मन्त्री भट्टराईले विश्वविद्यालयका पदाधिकारीहरूको अधिकारसम्बन्धी समेत स्पष्ट व्यवस्था गर्नुपर्ने बताइन्।
प्रकाशित मिति २०८१ चैत १० गते सोमबार ०१:१५




