गण्डकी प्रदेशका दुई जना पदाधिकारी सहित छ जना केन्द्रमा
काठमाडौं ।
प्रेस सेन्टर नेपालको ५औं राष्ट्रिय महाधिवेशनले कमल गिरी अध्यक्ष रहेको नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ।
मतगणनाको परिणाम अनुसार कमल गिरीले दिपेन्द्र रावललाई पराजित गरे । अध्यक्षमा निर्वाचित गिरीले ३६६ मत प्राप्त गर्दा रावलले १७५ मत प्राप्त गरेका छन् ।
निर्वाचन समितिका संयोजक गोविन्द आचार्यका अनुसार २९ जनाको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिवसहित विभिन्न १२ पदमा प्रतिस्पर्धाबाट निर्वाचित भएका छन् । उनले १७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएको जानकारी दिए । पदाधिकारी बाहेक प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, आरक्षणबाट आउने केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी एवं सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा चितवनका सुरेशचन्द्र अधिकारी निर्वाचित भएका छन् । अधिकारीले सुदीप बर्देवालाई २८६ मतान्तरले पछि पार्दै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित अधिकारीले ३९७ मत प्राप्त गर्दा बर्देवाले १११ मत प्राप्त गरेका थिए ।
संगठनमा ५ जना उपाध्यक्ष भने निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
संगठनको महासचिवमा मनोज घर्तीमगर निर्वाचित भएका छन् । उनले अर्का उम्मेदवार दीपेन्द्र शर्मालाई २३१ मतान्तरले पछि पार्दै महासचिव निर्वाचित भएका हुन् । निर्वाचित घर्तीमगरले ३७९ मत प्राप्त गर्दा शर्माले १४८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपमहासचिव खुलामा ज्ञानप्रसाद पौडेल निर्वाचित भएका छन् । उनले बोमलाल गिरीलाई ९ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । उपमहासचिव महिलामा लक्ष्मी आचार्य, उपमहासचिव दलितमा हरिश बिक, उपमहासचिव मधेसीमा अनिल मिश्र, उपमहासचिव आदिवासी जनजातिमा बुद्ध लोप्चन निर्विरोध निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा वसन्त गिरी निर्वाचित भएका छन् । उनले अर्का उम्मेदवार डा. डक्टप्रसाद धिताललाई १४८ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । निर्वाचित गिरीले ३३५ मत प्राप्त गर्दा धितालले १८७ मत प्राप्त गरेका छन् । लेखा समितिको संयोजकमा अमृतराज तिवारी र सचिवमा भीम राई, अनुशासन समिति संयोजकमा गुनाराम घिमिरे र सचिवमा कृष्ण लेकाली निर्विरोध निर्वाचित भएका छन् ।
सचिव खुलामा सुरेन्द्र चालिसे र सन्तोष देउजा निर्वाचित भएका छन् भने सचिव महिलामा अञ्जली थापा, सचिव समावेशीमा अवतार राई निर्वाचित भएका छन् । यस्तै, प्रदेशबाट निर्वाचित हुने सचिवमा प्रदेश १ बाट दीपेन्द्रकुमार राई, मधेश प्रदेशबाट सुनिता बराल, बागमती प्रदेशबाट मीनकुमार दाहाल, गण्डकी प्रदेशबाट दीपक भट्टराई, लुम्बिनी प्रदेशबाट मानसिंह बिक, कर्णाली प्रदेशबाट गणेश कञ्चन भारती, सुदूरपश्चिम प्रदेशबाट राजेन्द्र अवस्थी निर्विरोध निर्वाचित भएका छन् । भूगोल बाहेक उपत्यका प्रदेशबाट नवराज दाहाल, प्रतिष्ठान प्रदेशबाट केशव भुल र एसोसियट प्रदेशबाट नन्दलाल तिवारी निर्विरोध निर्वाचित भएका छन् ।
गण्डकी प्रदेशका दुई जना पदाधिकारी सहित छ जना केन्द्रमा
प्रेस सेन्टर नेपालको केन्द्रीय समितिमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने चार केन्द्रीय सदस्यमा पोखराका कृष्ण दवाडी र घनश्याम पाण्डे, लमजुङकी जुना थापा र बागलुङका थमन थापा पनि निर्विरोध भएका छन् । गण्डकी प्रदेशबाट समावेशी उपाध्यक्षमा गोरखाका दीपक श्रेष्ठ जलन र सचिवमा नवलपुरका दीपक भट्टराई पनि निर्विरोध निर्वाचित भएका छन् । यसरी गण्डकी प्रदेशबाट प्रेस सेन्टरको केन्द्रीय सदस्यमा दुई जना पदाधिकारीसहित छ जनाले प्रतिनिधित्व गर्ने नवनिर्वाचित केन्द्रीय घनश्याम पाण्डेले जानकारी दिए ।
प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन शनिबार पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गरेका थिए ।
प्रेस सेन्टर नेपालको महाधिवेशन आयोजक समिति, प्रदेश पदाधिकारी, जिल्ला अध्यक्ष, प्रतिनिधि र बाह्य मोर्चाका गरेर ८२१ जना प्रतिनिधि रहेकोमा ६७ प्रतिशत अर्थात् ५५१ मत खसेको थियो।
प्रकाशित मिति २०८१ चैत १८ गते मंगलबार ११:५०




