२०८३ कात्तिक १० गते सोमबार

शिक्षकसँग भएको सम्झौता अनुसार शिक्षा विधेयक छिटो आउनुपर्छः काँग्रेस

शिक्षकसँग भएको सम्झौता अनुसार शिक्षा विधेयक छिटो आउनुपर्छः काँग्रेस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २१ गते शुक्रबार ११:३७

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले विद्यालय शिक्षा विधेयक शिक्षक महासंघसँग विगतमा भएका सम्झौता अनुसार छिटो आउनुपर्ने बताएको छ । देशभरका शिक्षकहरुले काठमाडौंमा अहिले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै आन्दोलन...

काठमाडौं ।

सत्तारुढ दल नेपाली काँग्रेसले विद्यालय शिक्षा विधेयक शिक्षक महासंघसँग विगतमा भएका सम्झौता अनुसार छिटो आउनुपर्ने बताएको छ ।

देशभरका शिक्षकहरुले काठमाडौंमा अहिले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै आन्दोलन गरिरहेका छन् । सरकारले संसदको हिउँदे अधिवेशनबाट शिक्षा विधेयक पारित गर्ने भने पनि पारित नगरी अधिवेशन अन्त्य गरेको छ । शिक्षकहरुको आन्दोलनसँगै नेपाली काँग्रेसले शिक्षक संघ संगठनसँग विगतमा भएका सम्झौताहरु अक्षरशः कार्यान्वयन गर्दै यथाशिघ्र विधेयक पास हुनुपर्ने बताएको छ । नेपाली काँग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षकहरुसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयनको ग्यारेन्टी लिनुपर्ने र यथाशिघ्र संसदबाट विधेयक पारित गर्नुपर्ने बताए । उनले संसदले कानून निर्माण गर्ने सवालमा अकर्मण्यता देखाएको आरोप लगाउँदै विद्यालय शिक्षा विधेयक बनाउनका लागि सबैले सम्झौता गरेर अघि बढ्न जरुरी रहेको बताएका छन् । शिक्षाको प्रारम्भिक बालविकासदेखि उच्च शिक्षासम्म भ्वाङ परेको उल्लेख गर्दै उनले यसलाई सुधार गर्ने गरी विधेयक ल्याउनुपर्नेमा जोड दिदै सबैले अधिकार मात्रै खोज्ने नभइ कर्तव्यवोध गर्न जरुरी रहेको उल्लेख गरे ।

शिक्षा विभाग प्रमुख महरले शिक्षक संघ संगठनसँग नेपाल सरकारले विगतमा शिक्षा विधेयक यथाशिघ्र पास गर्नेदेखि शिक्षा भित्रका सुधारका बारेमा भएका सम्झौताको अक्षरशः पालना हुनुपर्छ भन्ने काँग्रेसको धारणा र अडान रहेको जिकिर गरे । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाइकेपछि संसदहरुले बनाउनुपर्ने कानूनहरु ३ सय भन्दा बढी रहेको उल्लेख गर्दै यथाशिघ्र उक्त कानूनहरु बनाउनुपर्ने बताए । सडकमा भइरहेको शिक्षकहरुको आन्दोलनबारे सरकार र सदन बेखबर बन्न नहुने उनको भनाइ छ ।

शिक्षा विभाग प्रमुख महरले फास्ट ट्रयाकमा शिक्षा विधेयक पारित गरेर भए पनि शिक्षकहरुका माग सम्बोधन गर्न आग्रह गरे । संसदको बजेट अधिवेशन सुचारु भएको एक हप्ताभित्रै शिक्षा विधेयक पारित गर्नेगरी अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति २०८१ चैत २१ गते शुक्रबार ११:३७
हजुरको प्रतिक्रिया