जोर बिजोर गरेर निजी सवारी पनि चल्ने
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप भएकाे छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ ५ बजे बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार थपिएको निषेधाज्ञामा निजी सवारी साधन जोर–विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पनि पाइनेछ । निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्नेछ । तर अन्य सार्वजनिक सवारीसाधन भने चलाउन पाइने छैन ।
‘जनजीवनलाई सहज बनाउँदै लैजानुपर्ने र संक्रमण दर पनि घट्दै गएकाले यो निर्णय गरिएको हो’ प्रजिअ पराजुली भन्छन्, ‘यसको अर्थ जोखिम सकिएको भन्ने चाहिँ होइन, नागरिक आफैंले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।’
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार आर्थिक गतिविधिलाई सहज बनाउने गरी प्रशासनले निर्णय गरेको छ । जसअनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान विक्री गर्ने पसल सञ्चालन हुनेछन् ।
त्यस्तै, अटोमोबाइल्स र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछन् । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा र जुत्ता पसल खोल्न दिने निर्णय भएको अधिकारीले बताए । यही दिनमा फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङका पसल पनि खुल्नेछन् ।
बारका आधारमा खुल्ने पसललाई बिहान ११ देखि ४ बजेसम्म समय तोकिएको छ । खाद्यान्न, फलफूल र तरकारी खुल्ने समय पनि यथावत छ ।
उपत्यका प्रशासनले कोभिड–१९ भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसयता डेढ महीनासम्म क्रमशः निषेधाज्ञा थपिँदै आएको थियो ।
प्रकाशित मिति २०७८ असार ६ गते आइतबार ०७:२७




