तराई–मधेशका क्षेत्रमा तातो हावाको लहर फैलन सक्ने, सावधानी अपनाउन अनुरोध
पोखरा ।
स्थानीय वायुको आंशिक प्रभावले अहिले देशभर अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने क्रममा छ । गर्मीका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा प्रभाव पर्नसक्ने महाशाखाले जनाएको छ ।
विशेषगरी तराई–मधेशका क्षेत्रमा अबको दुई दिन अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
केही ठाउँमा तातो हावाको लहरसमेत फैलन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको हो ।
महाशाखाले तातो हावाको लहरसम्बन्धी बुधवार राति विषेश बुलेटिन जारी गर्दै उक्त जानकारी गराएको हो ।
महाशाखाले आगामी दुई दिनसम्म मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएको उल्लेख गरेको छ ।
यस्तै लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा आगामी २ दिन तातो लहरको समेत सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले विषेश बुलेटिन निकालेर सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो ।
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने लगायतका समस्या देखिन सक्छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, बाहिर जानुपर्दा हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्ने टोपी लगाउन, नियमित र पटक–पटक पानी तथा जुस, सर्वत प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्कमा रहन महाशाखाले अनुरोध गरेको छ ।





