काठमाडौं ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सम्पदामा राजनीति गर्न नहुने बताएकी छन् ।
शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौंं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सम्पदा निर्माणमा नेपालीकै लगानी गर्न राम्रो हुने भन्दै सम्पदा संरक्षणमा गर्व गर्न लायक काम हुनुपर्ने बताइन् । सम्पदाहरु नेपालीले बनाएको हो भन्ने उदाहरण हुनुपर्नेमा महानगरले जोड दिइरहेको बताइन् ।
उपप्रमुख डंगोलले भनिन्, ‘सम्पदा निर्माणमा लगानी महानगरपालिकाको होस् वा सरकारको होस् । हामीले यो चाहीँ नेपाली आफैँले बनाउनु पर्छ है । यसमा हाम्रो हरेक लगानी हाम्रा नेपालीहरुकै हुनुपर्छ । भोली समय बित्दै गइसकेपछि भूकम्पपश्चात् कसले कसले केके गरे ? भन्दा हाम्रो सम्पदा क्षेत्रभित्र जियो पोलिटिक्स होइन, हाम्रो सम्पदा क्षेत्रभित्र हाम्रो सहभागिता हुनुपर्छ । हामीले गर्व गर्ने ठाउँ हुनुपर्छ । यो नेपालीले बनाएको हो भन्ने उदाहरण हुनुपर्छ भन्नेकुरामा सदैव जोड दिइरहेका छौँ ।’
उपप्रमुख डंगोलले सस्तो टेण्डरमा सम्पदा पुनःनिर्माण गर्न दिँदा सम्पदा संरक्षणमा कठिनाइ भइरहेको समेत जानकारी गराइन ।
प्रकाशित मिति २०८२ वैशाख १२ गते शुक्रबार ०२:५६




