बुधबारसम्ममा शिक्षकका माग सम्बोधन हुन्छन् : सञ्चारमन्त्री गुरुङ
काठमाडौं ।
सञ्चार, तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनरत शिक्षकहरुसँगको वार्ता सकारात्मक भएको बताएका छन् ।
हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि संचारकर्मीहरु सँग बालुवाटारमा बोल्दै संचारमन्त्री गुरुङले शिक्षामन्त्रीले महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग गरेको वार्ता सकारात्मक भएको जानकारी प्राप्त भएको उनले बताएका हुन् ।
भोली बुधबारसम्ममा शिक्षकहरूका मागबारे सहमति भई विद्यालय सञ्चालनको वातावरण बन्ने अपेक्षा गरिएको उनले बताए ।
मन्त्रिपरिषदको बैठक बस्नु अघि सरकारका ३ मन्त्रीहरु अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त र एमाले महासचिव शंकर पोखरेल साथै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेपाल शिक्षक
महासंघका पदाधिकारीहरुसँग आन्दोलन र मागका बारेमा छलफल गरेको बुझिएको छ ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमा करिब ३ घण्टा छलफल गरेर ३ जना मन्त्रीहरु मन्त्रिपरिषदको बैठकमा बालुवाटार गएका थिए ।
सरकारले आन्दोलनरत शिक्षक महासंघसँगको वार्ता निष्कर्षनजिक पुगेको दाबी गरेको छ ।
सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सहमति भने हुन नसकेको सरकारले जनाएको हो ।
सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो ।
वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए । उनले महासंघसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने जानकारी दिए ।
महासंघका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए । उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन स्थगित गर्ने बताए ।
विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।
प्रकाशित मिति २०८२ वैशाख १६ गते मंगलबार ०९:०५




