काठमाडौं ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीको १५ औँ महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने भएपनि कोही पदाधिकारी नबोलेको बताएका छन् ।
विपी कोईराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमबार काठमाडौंमा आयोजित ‘वीपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा वीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा उनले यस्तो बताउका हुन् । ।
उनले पार्टीका भ्रातृ संस्थाहरू लथालिंग भएको बताए । पार्टीको १५ औँ महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने भएपनि हुन्छ÷हुँदैन भन्ने कोही नेतृत्व तथा पदाधिकारी नबोलेको धारणा उनले व्यक्त गरे ।
उनले यस्तो लथालिंग अवस्थाले पार्टी नचल्ने समेत जिकिर गरे । सांसद कोईरालाले जनतालाई को प्रधानमन्त्री हुने र को मन्त्री हुने भन्नेमा सरोकार नभएको समेत बताए ।
नागरिकहरूले धेरै नखोजेको बताउँदै भ्रष्टाचार नियन्त्रण गर्न आग्रह गरेको उनको भनाइ छ ।
उनले भने, “नेपाली काँग्रेसको कुरा गरौँ, भ्रातृ संस्थाहरू लथालिङ्ग छ, महाधिवेशन २०८२ को मंसिरमा हुनुपर्ने हो । हुन्छ÷हुँदैन, कोही नेतृत्व÷पदाधिकारीहरू बोल्नुहुन्न । यसरी त पार्टी पनि चल्दैन, मुलुक पनि चल्दैन । को प्रधानमन्त्री हुने, को मन्त्री हुनेसँग जनतालाई सरोकार छैन । म सडकको जनताको कुरा गर्दैछु । नागरिकले धेरै कुरा खोजेका छैनन् । उनीहरूले तिमीहरू भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन भ्रष्टाचार गर्दिन र भ्रष्टाचार हुन दिन्न भने पनि भ्रष्टाचारको नियन्त्रण र अनुसन्धान गर्ने राज्यका संयन्त्रहरू कमजोर भएको उनको भनाइ थियो ।
प्रकाशित मिति २०८२ वैशाख १६ गते मंगलबार ०९:३५




