काठमाडौं ।
कुटनीति र अन्तर्राष्ट्रिय मामिलामा महत्वपूर्ण भुमिका खेल्नको लागि नेपालमा आईतबारबाट एम्बास्डर्स क्लब र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) को शुरुवात भएको छ ।
सोही अवसरमा नेपालको पहिलो कुटनीतिक पत्रिका तथा मिडिया प्लेटफर्म ‘द डिप्लोम्याट नेपाल’ पनि सार्वजनिक गरिएको हो । कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आईआरजीडीडी, एम्बास्डर्स क्लब र ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनको शुभारम्भले विश्वमा भइरहेको परिवर्तनमा नेपालले एक महत्वपूर्ण भुमिका रहने बताएका छन् । वैश्विक व्यवस्था तीव्र रुपमा परिवर्तन भइरहेको भन्दै नेपाल अब किनारामा बस्न नसक्ने उल्लेख गर्दै उनले शान्ति, सक्रिय सार्वभौमिकता र न्यायमा आधारित योगदानहरुको लागि हुने प्रयास एक समयानुकुल र आवश्यक कदम भएको बताए ।
पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘वैश्विक व्यवस्था तीव्र रूपमा परिवर्तन हुँदैछ र नेपाल अब किनारामा बस्न सक्दैन । शान्ति, सक्रिय सार्वभौमिकता र न्यायमा आधारित योगदानहरुको लागि हुने प्रयास एक समयानुकुल र आवश्यक कदम हो ।’
कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराई, गृहमन्त्री रमेश लेखक, पूर्वउपप्रधानमन्त्री सुजाता कोईराला, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, एम्बास्डर्स क्लब र आईआरजीडीडीकी अध्यक्ष डा. शर्मिला पराजुली ढकाल, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनका प्रकाशक बिमल ढकाल, डिप्लोम्याटिक कोप्र्सका डिन तथा नेपालका लागि इजिप्टका राजदुत नोहा हाम्दी अहमद र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्दीले संयुक्त रूपमा पत्रिका विमोचन गरेका थिए ।
प्रकाशित मिति २०८२ जेठ ६ गते सोमबार ०९:३८




