निर्माणको २ बर्ष नपुग्दै बाढीले लग्यो फेवा जोगाउने सिल्टरेसन ड्याम
पोखरा । पोखराको फेवातालमा बर्सेनि थुप्रिने ढुङ्गा, माटो तथा गेग्य्रान रोक्नका लागि भन्दै पोखरा २३ हर्पन खोलामा करिब २ वर्ष अघि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले निर्माण गरेको सिल्टेसन ड्याम बाढीले बगाईदिएको छ । पोखरा २३ स्थित हर्पनखोलामा बनेको ड्याम निर्माण पूरा भएको २ बर्ष नपुग्दै बाढीले बगाइदिएको हो ।
प्रदेश सरकार र महानगर दुवैले ड्यामको गुणस्तरमा ध्यान नदिँदा फेवाताल संरक्षण त परको कुरा उल्टै बाढीले ड्याम नै बगाएर बस्ती समेत जोखिममा परेको स्थानीयले आरोप लगाएका छन् ।
निर्माणको दुईबर्ष नपुग्दै ड्याम भत्किएपछि स्थानीयले पोखरा महानगरपालिकाका ईञ्जिनियरको क्षमतामाथी समेत प्रश्न उठाएका छन् । ‘ ठेकेदारले त नाफाका लागि कमसल सामाग्री प्रयाेग गर्यो, तर आयोजना हेर्ने ईञ्जिनियरले के हेरेका थिए ? ‘ एक स्थानीयले आक्रोस पोखे । ठेकेदार र आयोजनामा संलग्न ईञ्जिनियरको मिलेमताेमा कमजाेर ड्याम बनेका कारण बाढीले बगाएकाे उनीहरुकाे आराेप छ ।
उक्त ड्याम खड्का कृष्ण/पि.के जेभी दाङले निर्माणको ठेक्का लिएको थियो । जेभीसँग ७ करोड ८८ लाख ६२ हजार रुपैयाँमा ड्यामको निर्माण सम्झौता गरिएको थियो।

०७६ पुसमा निर्माण सुरु भएको उक्त ड्याम बनाउन सुरु गरेदेखि नै विवादित थियो । निर्माण शुरु गरेको दुुई महिना नबित्दै सामान्य हातले छुँदा पनि भत्किन शुरु गरेपछि स्थानीयले विरोध नै गरेका थिए । छिटो सक्ने नाममा कच्चा सामग्री प्रयोग गरेको र त्यसले बस्ती जोखिममा परेको भन्दै उनीहरुले विरोध गरेका थिए ।
हर्पन खोला फेवातालको मुख्य मुहान खोला मानिन्छ । हर्पनजस्तै तालका अन्य सहायक मुहानहरुबाट वर्षेनि १ लाख २४ हजार मेटि्रक टन गेग्य्रान फेवा पुग्ने तथ्यांक छ । तिनै गेग्य्रान रोक्ने र ताल बचाउने भन्दै महानगर र प्रदेशले २ वर्षअघि ड्याम बनाएका थिए ।

फेवा मुहानका विभिन्न खोलामा ५ वटा सिल्ट्रेसन ड्याम बनेका छन् । ०७६ पुस महिनादेखि सुरु गरेको बाँध बनाउने काम १५ महिनाभित्र सक्ने सम्झौतासहित सिल्ट्रेसन ड्याम निर्माण सुरु भएको थियो । गण्डकी प्रदेश र पोखरा महानगरको संयुक्त २८ करोड १६ लाख रुपैयाँमा ती ड्याम बनेका हुन् ।
फेवा मुहानका बेत्यानी खोलामा २ वटा, खहरे खोला, घाँटीछिना र लौरुक खोलामा एक/एक गरी ५ वटा ड्याम बनाउने गरी पोखरा २४ स्थित बेत्यानी खोलामा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखराका मेयर मानबहादुर जिसीले शिलान्यास गरेका थिए ।
प्रकाशित मिति २०७८ असार २४ गते बिहीबार १२:१०




