२०८३ साउन २१ गते बिहीबार

नेकपा एस भन्छ : राजनीतिक गन्ध आएको छ, माधव नेपालले भ्रष्टाचार गरे भनेर कसैले पत्याउँदैन

नेकपा एस भन्छ : राजनीतिक गन्ध आएको छ, माधव नेपालले भ्रष्टाचार गरे भनेर कसैले पत्याउँदैन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २४ गते शुक्रबार ०९:३६

कर्मचारीलाई दबाब दिएर पतञ्जलिलाई जग्गा दिलाएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि  भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले मन्त्रिपरिषद्को निर्णयबाट हदबन्दी छुटको जग्गा सट्टापट्टाको स्वीकृति दिएर भ्रष्टाचार गरेको अभियोग लगाएको हो ।

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक पूर्वाग्रहबाट प्रतिशोध साँधेर मुद्दा दर्ता गरेको भन्दै आपत्ति जनाएको छ ।

पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीका पदाधिकारीसहितका नेताहरुसँगको छलफलपछि बोल्दै पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले षड्यन्त्रमुलक ढंगबाट अध्यक्ष नेपालमाथि प्रतिशोध साँधिएको बताएका छन् ।

उनले आफूहरुको पार्टी सिध्याउनका लागि पहिलादेखि नै प्रयास हुने गरेको उल्लेख गर्दै अहिले पार्टी अध्यक्षलाई षड्यन्त्रमुलक ढंगबाट मुद्दा दायर गरिएको बताए ।

षड्यन्त्रहरुलाई पराजित गर्दै र प्रतिकार गर्दै अघि बढ्ने उनको भनाइ छ । पार्टी अध्यक्षमाथि मुद्दा दायर गर्नु पार्टीलाई कमजोर बनाउने उद्देश्यप्रेरित रहेको उनले जिकिर गरे ।

उनकाअनुसार अध्यक्ष नेपालले सार्वजनिक पदको दुरुपयोग गरेर भ्रष्टाचारजन्य काम गरेका छैनन् ।

आजसम्मको उनका व्यवहार, कार्यशैलीले विभिन्न ओहोदामा पुग्दा पनि निष्कलंक छवि, स्वच्छ छवि लिएर उनी फर्किएको उपाध्यक्ष ज्वालाको दाबी छ ।

अदालतबाट सफाई पाएर निस्किने विश्वास आफूहरुको रहेको पनि उनले बताए । उपाध्यक्ष ज्वालाले मन्त्रीपरिषद्का नीतिगत निर्णयहरुमा अख्तियारले छानविन गर्न पाउने बाटो खुलेको उल्लेख गरे ।

अध्यक्ष नेपालमाथि योजनावद्ध रुपमा फसाउने उद्देश्यबाट मुद्दा चलाइएको उनले बताए । उनले माधव नेपालले भ्रष्टाचार ग¥यो भन्दा कसैले पनि नपत्याउने पनि दाबी गरे ।

माधव नेपालको स्वच्छ छविबाट ईष्या गर्ने सत्तापक्षबाट षड्यन्त्रपूर्वक मुद्दा चलाएको उनको भनाइ छ ।

कर्मचारीलाई दबाब दिएर पतञ्जलिलाई जग्गा दिलाएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि  भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मन्त्रिपरिषद्को निर्णयबाट हदबन्दी छुटको जग्गा सट्टापट्टाको स्वीकृति दिएर भ्रष्टाचार गरेको अभियोग लगाएको हो ।

अध्यक्ष नेपालले भने प्रधानमन्त्री केपी ओली सुरुदेखि नै आफूविरुद्ध लागेको बताएका छन् । पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री ओलीले आफ्नो राजनीति सिध्याउन लागेको आरोप लगाए ।

नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष नेपालमाथि अख्तियारले क्षेत्राधिकार नाघेको आरोप लगाएको छ ।

अख्तियारले हदबन्दी छुट जग्गा बेचबिखन र सट्टापट्टा गर्न दिने तत्कालीन सरकारको निर्णयमा जिम्मेवार भएको दाबी गर्दै पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जना विरुद्ध मुद्दा दर्ता गराएको छ ।

 

प्रकाशित मिति २०८२ जेठ २४ गते शुक्रबार ०९:३६
हजुरको प्रतिक्रिया