काठमाडौं ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अवरुद्ध प्रतिनिधि सभाको बैठक छिटै सुचारु हुने बताएका छन्।
मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूको प्रश्नमा बुधवार सरकारका प्रवक्ता गुरुङले आइतबार वा सोमबारसम्म ९आज वा भोलिसम्म० बैठक सुचारु हुने बताएका हुन्। भिजिट भिसाको प्रकरणलाई लिएर प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन्। अख्तियारले एउटा कर्मचारीमाथि छानबिन शुरु गरेको र कर्मचारीमाथि छानबिन शुरु गर्दा गृहमन्त्रीको राजीनामा नआउने स्पष्ट पारे।
उनले एउटा कर्मचारीमाथि छानबिन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्न नसक्ने जिकिर गरे। अहिले पनि संसदको अवरोध खुलाउने बारेमा सत्ता पक्ष र प्रतिपक्षबीच छलफल जारी रहेको बताए । गृहमन्त्रीले राजीनामा नदिने बरु संसदीय छानबिन समिति कसरी बनाउने भन्नेमा छलफल जारी रहेको बताए। सदनमा उठेका प्रश्नको जवाफ संसदमा गृहमन्त्रीले दिने र प्रतिपक्षले संसद खोलेर सहयोग गर्ने, बजेट सम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने काम गर्नुपर्ने बताए।
मन्त्री गुरुङले भने, ‘संसद अवरुद्ध भएको धेरै दिन भइसकेको छ । अख्तियारले एउटा कर्मचारीमाथि छानविन शुरु गरेको । गृहमन्त्रालयको एउटा कर्मचारीमाथि । एउटा कर्मचारीमाथि छानविन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्दैन । धेरै हिसावले अनुपयुक्त थियो । अहिले संसद जसरी अवरुद्ध भइरहको छ, सत्तापक्ष र प्रतिपक्षको बीचमा लामै छलफल चलिरहेको छ । आज सम्भवतः संसद खुल्नसक्ने सम्भावना छ । गृहमन्त्रीले राजीनामा दिनेकुरा फेरि पनि आउँदैन । धेरैमा संसदीय छानविन कसरी बनाउने, के बनाउने भन्नेमा छलफल भइरहेको छ । हाम्रो उठिरहेका प्रश्नको संसदमा धारणा राख्ने र प्रतिपक्षले संसद खोलेर सहयोग गर्ने, बजेट सम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने काम गरिरहेका छौँ । राजनीति, संसदलाई कसरी लैजाने भन्नेकुरा सानोतिनो कुरा उठाएर अफ्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्दैन । सम्भवतः आज वा भोलिसम्म संसद चल्छ ।’
मन्त्री गुरुङले सानोतिनो कुरा उठाएर अप्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्न नसक्ने बताए।
प्रकाशित मिति २०८२ जेठ २९ गते बुधबार ०१:४१




