२०८३ असोज २६ गते सोमबार

न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरुको आपत्ति, न्याय परिषद्लाई संसदीय समितिमा बोलाउन माग

न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरुको आपत्ति, न्याय परिषद्लाई संसदीय समितिमा बोलाउन माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३२ गते शनिबार ०४:३२

काठमाडौ । न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । शनिवारको संसदीय सुनुवाई समितिमा सांसदहरुले न्याय परिषद्ले सर्वोच्च अदालतको लागि न्यायाधीश सिफारिस गरेकोमा समावेशी हुन नसकेको भन्दै सांसदहरुले...

काठमाडौ ।
न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।
शनिवारको संसदीय सुनुवाई समितिमा सांसदहरुले न्याय परिषद्ले सर्वोच्च अदालतको लागि न्यायाधीश सिफारिस गरेकोमा समावेशी हुन नसकेको भन्दै सांसदहरुले आपत्ति जनाएका हुन् । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिस भएका थिए ।
न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सिफारिस गरेको छ ।
सांसदहरुले भने यसमा असहमति जनाएका हुन् ।
समितिको बैठकमा बोल्दै जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले न्याय परिषद् सदस्य र न्यायाधीश गरी चार जना सिफारिस गरिएपनि समावेशी हुन नसकेको बताए ।
उनले सांसदहरुले बारम्बार प्रश्न गरिरहँदासमेत ध्यान जान नसकेको भन्दै संसदीय समितिले नै कदम चाल्नुपर्ने उल्लेख गरे ।
उनले भने , ‘अहिले पनि तीन चार जना भयो । तर समावेशी हुन सकेको छैन । हामीले बारम्बार प्रश्न गरिरहेका छौँ । तर सरकारको ध्यान किन त्यहाँ गइरहेको छैन । हामी सुनुवाई समितिले के गर्नपर्ने हो ।’
समितिको बैठकमा बोल्दै अहिले संवैधानिक परिषद्का ५२ जनाको सुनुवाई भइरहेको बताए । सुनुवाई भइरहेको व्यक्तिमा एक जना न्याय परिषद्मा पनि सदस्य रहेका र उक्त व्यक्तिलाई नै राखेर धमाधम सबै नियुक्ति गर्ने हतारो किन छ ? भन्दै प्रश्न गरे । यसबारे संवैधानिक प्रश्न उठ्न सक्छ की सक्दैन भन्दै प्रश्न गरे ।
उनले भने , ‘अहिले संवैधानिक परिषद्का ५२ भाईको सुनुवाई चलिरहेको छ । त्यसमध्येका एक जना न्याय परिषद्मा पनि सदस्य हुनुहुन्छ । उहाँलाई राखेर धमाधम सबै नियुक्ति गर्ने हतारो किन परेको छ ? यसको कुनै संवैधानिक प्रश्न उठ्न सक्छ की सक्दैन ।’
समितिको बैठकमा बोल्दै नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले मुद्दाको चाप बढिरहेको र क्लियरेन्स हुन नसकिरहेको बताए । न्याय परिषद्ले पहिला नै गर्नुपर्ने सिफारिस ढिलो गरी गरेको र अब छिटो संसदीय सुनुवाई गर्नुपर्ने उनको भनाई छ ।
उनले भने, ‘मुद्दाको चाप बढेको बढ्यै छ, क्लियरेन्स हुन सकिरहेको छैन । यो प्रश्न पनि छ । न्याय परिषद्ले पहिला नै गर्न पर्दथ्यो यो सिफारिस ढिलो भएको छ । समावेशिताको कुरा होला । कानूनी प्रश्नहरु जोडिएका होलान् । छिटो हामीले सुनुवाई गर्नुपर्छ ।’
समितिको बैठकमा बोल्दै नेपाली काँग्रेस सांसद जीवन परियारले न्यायाधीश सिफारिसमा समावेशिता हुन नसकेको भन्दै न्यायपरिषद्लाई बोलाएर जवाफ माग्नुपर्ने बताए ।
उनले भने , ‘राज्यका संरचनाहरु कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका आफ्नै क्षेत्राधिकार छन् । न्याय परिषद्को पनि आफ्नै क्षेत्राधिकार छ । सरकारको प्रतिनिधिका रुपमा कानूनमन्त्री हुनुहुन्छ । सिफारिस भएका श्रीमानहरुको बारेमा पनि गुनासो छैन । उहाँहरु योग्य व्यक्ति नै हुनुहुन्छ । तथापि त्यहाँ समावेशिताका धेरै ठाउँ छन् । सिफारिस भएका व्यक्तिलाई प्रश्न गर्न मिल्दैन । यो समितिले न्याय परिषद्का व्यक्तिलाई बोलाएर छलफल गर्न मिल्छ की मिल्दैन ?’
समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले प्रतिपक्ष र सत्तापक्ष भन्दा माथि उठेर राज्य निर्माण गर्ने, राज्य बनाउने ढंगले समितिले सोच्नुपर्ने बताए । समावेशिताको कुरामा न्याय परिषद्सँग छलफल गर्नुपर्ने उल्लेख गरे ।
उनले भने , ‘प्रतिपक्ष, सत्तापक्ष भन्दा माथि उठेर राज्य निर्माण गर्ने, राज्य बनाउने ढंगले समितिले सोच्नुपर्छ । यसका नयाँ सोचाईहरु विकास गर्नुपर्छ । समावेशिताको कुरामा न्याय परिषद्सँग छलफल गर्नुपर्छ । ’
समितिको बैठकमा बोलदै नेपाली काँग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले न्याय परिषद्लाई बोलाउने भन्दा न्याय परिषद्को सदस्यको रुपमा कानूनमन्त्री सदस्य रहने भएकाले कानूनमन्त्रीलाई नै बोलाएर सोध्नुपर्ने धारणा राखे ।
उनले विगतमा पनि कानूनमन्त्रीलाई नै समितिमा बोलाएर सोधिएको स्मरण गराए । उनले न्यायालयमा संसदले हस्तक्षेप गर्न नपाउने बताए ।
उनले भने , ‘न्याय परिषद्लाई बोलाएर सोध्ने की नसोध्ने भन्दा धेरै पहिला सर्वोच्च अदालतको सेकेण्ड म्यानले न्याय परिषद्को बैठकमा न्यायालयमा भ्रष्टाचार छ भनेर लेख्नुभयो । समितिमा धेरै छलफल भयो । न्यायालयमा हस्तक्षेप संसदले गर्न पाउँदैन । कानूनमन्त्रीले आएर जवाफ दिनुपर्छ । न्याय परिषद्लाई बोलाउने की नबोलाउने भन्नेबारेमा हामीले यहीँबाट पारित गर्नुपर्छ ।’
संसदीय सुनुवाई समितिमा आज सर्वोच्च अदालतका न्यायाधिश र न्याय परिषद्को सदस्यको संसदीय सुनुवाइ प्रारम्भ भएको हो ।

प्रकाशित मिति २०८२ जेठ ३२ गते शनिबार ०४:३२
हजुरको प्रतिक्रिया