बागलुङ ।
कृषि ज्ञान केन्द्र बागलुङले जिल्लाका उत्कृष्ट पाँच किसानलाई पुरस्कारसहित सम्मान गरेको छ ।
आइतबार २२ औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषकलाई जनही रु १० हजार र प्रमाणपत्रले सम्मान गरिएको हो ।
ज्ञान केन्द्रले ढोरपाटन नगरपालिका–१ भब्रेटाका चन्द्रलाल पाण्डे, बागलुङ नगरपालिका–११ का नन्दलाल जैसी, वडा नम्बर ७ का ओमराज शर्मा, वडा नम्बर ४ का तिलोचन सापकोटा र ढोरपाटन–५ का हिमाल कुमार पुनलाई सम्मान गरेको हो ।
कृषकहरुको हौसला बढाउन र कृषि पेशालाई सम्मानित बनाउन कृषकहरुलाई पुरस्कृत गरिएको कषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले बताए। हरेक वर्ष फरक फरक किसानलाई ज्ञान केन्द्रले पुरस्कृत गर्दै आएको उनको भनाइ छ । ज्ञान केन्द्रले किसान पुरस्कृतका लागि मापदण्ड बनाएको र सोही अनुसार वर्षेनी सम्मान गर्दै आएको सिलवालले बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणमा सघाउनु पर्नेमा जोड दिए । पछिल्लो समय व्यवसायिक कृषितर्फ धेरै युवाको आकर्षण बढेको भन्दै बजार नपाउँदा निरास हुने गरेको उनको भनाइ छ ।
प्रमुख थापाले कृषिमा यान्त्रिकरणको जरुरी रहेको बताए। प्रबिधिको विकासँगै अब किसानहरु पनि आधुनिक यन्त्र उपकरणको प्रयोगमा लाग्नु पर्ने उनको भनाइ छ ।
परम्परागत खेती प्राणालीसँगै आधुनिकतालाई पनि अङ्गाल्नु पर्नेमा जोड दिए । राज्यले कृषि क्षेत्रमा ठूलो लगानी गरि रहेको हुँदा आत्मनिर्भर मात्रै नभएर व्यसायिक हुनु पर्ने थापाले बताए ।
प्रकाशित मिति २०८२ असार १५ गते आइतबार ०८:०३




