काठमाडौं ।
प्रहरी महानिरीक्षक दीपक थापाले आर्थिक वर्ष २०८०—०८१ को भन्दा आ.व. २०८१—०८२ मा अपराधका घटनाहरुमा वृद्धि भएको बताएका छन् ।
संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८०—०८१ को भन्दा आ.व. २०८१—०८२ मा झन्डै १.२४ प्रतिशतले कसुरको मात्रा बढेको बताएका हुन् ।
उनकाअनुसार २०८०—०८१ सम्ममा असार मसान्तसम्ममा देशभर ५८ हजार ४ सय ७० वटा मुद्दा दर्ता भएको थिए । आ.व. २०८१—०८२ मा ५९ हजार २ सय ४ घटना दर्ता भएका छन् ।
सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौं उपत्यकामा नै दर्ता भएको र कुल मुद्दामध्ये काठमाडौं उपत्यकामा दर्ता भएका मुद्दाको संख्या १६ हजार १ सय ७२ रहेको छ ।
त्यसपछि सबैभन्दा धेरै मधेस प्रदेश र कोशी प्रदेश रहेको छ । कर्णालीमा सबैभन्दा कम मुद्दा दर्ता भएका छन् ।
सवारी दुर्घटनाको स्थिति भयावह रहेको प्रहरी महानिरीक्षक थापाले बताएका छन् । झन्डै एक दिनमा सातदेखि १० जनाको मृत्यु हुने गरेको र यो मधेस प्रदेशमा बढी रहेको उनले बताए ।
आ.व. २०८१—०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनामा २ हजार ५ सय ४९ जनाको मृत्यु भएको उनले जानकारी दिए ।
महानिरीक्षक थापाले भने, ‘अपराधको वर्तमान अवस्थाको कुरा गर्दा गत वर्षको २०८०—०८१ सम्ममा असार मसान्तसम्ममा देशभर ५८ हजार ४ सय ७० वटा मुद्दा दर्ता भएको थियो । अहिले ५९ हजार २ सय ४ घटना दर्ता भएको छ । गत वर्ष भन्दा झन्डै १.२४ प्रतिशतले अहिले कसुरको मात्रा र मुद्दा बढेको अवस्था देखिन्छ । केही मुद्दाहरु देवानी टाइपका पनि छन् । सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौं भ्याली नै हो । ५९ हजार २ सय ४ मुद्दामा १६ हजार १ सय ७२ मुद्दा यहीँ नै छन् । त्यसपछि मधेस प्रदेश र कोशी प्रदेशमा बढी छन् । कर्णाली प्रदेशमा कम छन् । सवारी दुर्घटनाको स्थिति भयावह नै छ । झन्डै एक दिनमा सातदेखि १० जनाको मृत्यु हुन्छ । सबैभन्दा बढी मधेस प्रदेशमा नै छ । २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनामा २ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ, गत वर्षमा । पहिलाको भन्दा बढेको अवस्था छ । २५.१५ प्रतिशतले बढेको छ ।’
महानिरीक्षक थापाले शान्ति सुरक्षा सही ठाउँमा रहेको बताए । एक दिनमा नेपाल प्रहरीले २ सय २६ वटा सवारी गस्ती, चेकिङ ६ सय ९, पैदल गस्ती १ हजार १ सय १०, ग्रामिण गस्ती ७ सय १२ हुने गरेको उनले उल्लेख गरे ।
२४ घण्टामा ३० हजार ३ सय ७४ जनशक्ति सुरक्षामा खटिने गरेको पनि उनले सो अवसरमा जानकारी गराए ।
प्रकाशित मिति २०८२ साउन ४ गते शनिबार १०:५६




