२०८३ साउन २१ गते बिहीबार

अर्थ

आर्थिक वृद्धिदरमा नेपाल एसियाकै चाैथाे

आर्थिक वृद्धिदरमा नेपाल एसियाकै चाैथाे

सुवास मल्ल

@Subash Malla

२०७७ असोज १ गते बिहीबार ०१:३०

नेपालले याे वर्ष २.३ प्रतिशतकाे वृद्धि हासिल गर्नेछ, जाे गत वर्ष प्राप्त गरेकाे ७ प्रतिशत र याे वर्षका लागि बैंकले पहिले प्रक्षेपण गरेकाे ५.३ प्रतिशतका सामु भने निकै कम हाे । तथापी विश्व अर्थतन्त्र नै ध्वस्तप्रायः भएकाे बेलामा पनि सकारात्मक विन्दुमा अडिएर बस्न सक्नुलाई भने नेपालकाे सफलता नै मान्नुपर्छ ।

एसियाली अर्थतन्त्रमा भने ६ दशक यताकै गम्भिर धक्का

एसियाली विकास बैंकले सन् २०२० सेप्टेम्बर महिनाकाे लागि आर्थिक वृद्धिदरकाे प्रक्षेपण सार्वजनिक गरेकाे छ । ‘एसियाली विकास दृष्टिकाेण २०२०’ नाम दिइएकाे रिपाेर्टमा एसियाली देशहरूकाे कुल ग्राहस्थ उत्पादन वृद्धिदरमा विगत ६ दशक यता कै सबैभन्दा गम्भिर धक्का लाग्ने बताइएकाे छ । यसरी हेर्दा दाेस्राे विश्वयुद्ध सकिएर एसियाभर स्वतन्त्रता संग्राम तथा आन्तरिक द्वन्द्वहरू चर्केकाे सन् १९६० काे दशकजस्तै अवस्थामा एसियाकाे अर्थतन्त्र पुगेकाे छ ।

साे रिपाेर्टका अनुसार काेराेनाकाे महामारीका कारण एसियामा सन् २०२० काे आर्थिक वृद्धिदर ०.७ प्रतिशतले ऋणात्मक हुनेछ । जबकी पहिले याे क्षेत्रका लागि वृद्धिदर २.२ प्रतिशत प्रक्षेपण गरिएकाे थियाे । तथापी याे महामारीबाट बिस्तारै तंग्रिदै गएकाे अर्थतन्त्रमा अर्काे वर्ष उछाल देख्न सकिने पनि प्रतिवेदनमा उल्लेख गरिएकाे छ । सन् २०२१ मा ६.२ प्रतिशत वृद्धिदर हुने पुरानाे प्रक्षेपणलाई बैंकले सच्याउँदै ६.८ प्रतिशत पुग्ने उल्लेख गरेकाे छ ।

 

नेपालकाे स्थिति भने निकै बलियाे
काेराेना महामारीकाे प्रभाव अलि पछिमात्र सामना गर्नु परेकाे नेपालकाे वृद्धिदर भने सकारात्मक नै रहने बताइएकाे छ । रिपाेर्टका अनुसार २ प्रतिशतभन्दा बढिकाे वृद्धिदर कायम गर्न सफल जम्मा ५ वटा देशहरूमा नेपालले चाैथाे स्थान प्राप्त गर्न सफल भएकाे छ । नेपालले याे वर्ष २.३ प्रतिशतकाे वृद्धि हासिल गर्ने बैंककाे अनुमान छ, जाे नेपालकाे केन्द्रीय तथ्यांक विभागकाे अनुमानसँग मेल खान्छ । यद्यपी गत वर्ष प्राप्त गरेकाे ७ प्रतिशत र याे वर्षका लागि बैंकले पहिले प्रक्षेपण गरेकाे ५.३ प्रतिशतका सामु याे वृद्धि भने निकै कम हाे । तथापी विश्व अर्थतन्त्र नै ध्वस्तप्रायः भएकाे बेलामा पनि सकारात्मक विन्दुमा अडिएर बस्न सक्नुलाई भने नेपालकाे सफलता नै मान्नुपर्ने विभिन्न अन्तर्राष्ट्रीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
यही प्रतिवेदनका अनुसार नेपालले काेराेनाका असर ढिला गरी सामना गरेकाले सन् २०२१ मा भने नेपालले याे वृद्धिदरलाई कायम राख्न सक्ने छैन । नेपालकाे वृद्धिदर १.५ मा खुम्चिने उल्लेख गर्दै प्रतिवेदनले ऋणात्मक भने नहुने उल्लेख गरेकाे छ ।

 

अन्य देशहरूकाे अवस्था
याे वर्ष काेराेनाकाे कहरका बाबजुद बंगलादेशले ५.२ प्रतिशतकाे कुल ग्राहस्थ उत्पादन वृद्धि गर्दै एसियाकाे सबैभन्दा छिटाे वृद्धि भइरहेकाे अर्थतन्त्रकाे परिचय दिएकाे छ । गत वर्षकाे ८.२ प्रतिशतकाे वृद्धिदरबाट तल झरे पनि एसियाभित्रकाे पहिलाे स्थान भने बंगलादेशले अन्य देशलाई हासिल गर्न दिएन ।
बंगलादेशलाई पच्छ्याउँदै तुर्कमेनिस्तानले ३.२ प्रतिशत र भुटानले २.३ प्रतिशतकाे वृद्धिदर कायम गर्दै नेपालभन्दा अगाडि देखिएका छन् । नेपालकाे छिमेकी देश भारतले यहि अवधिमा ९ प्रतिशतकाे नकारात्मक वृद्धिदर व्यहाेर्नु परेकाे छ भने अर्काे छिमेकी देश चीन १.८ प्रतिशतमा खुम्चिएकाे छ ।
एसियाकाे सबैभन्दा ऋणात्मक अर्थतन्त्र माल्दिभ्सकाे देखिएकाे छ, जसकाे अर्थतन्त्र याे वर्ष २०.५ प्रतिशतले तल झरेकाे छ । उता फिजीले १९.८ प्रतिशत र कीर्गिज गणतन्त्रले १० प्रतिशतकाे धक्का व्यहाेर्दै एसियामा दाेस्राे र तेस्राे सबैभन्दा पीडित बन्ने प्रक्षेपण पनि एडिबीले गरेकाे छ ।
समग्रमा एसियाभित्रकाे सबै क्षेत्रमा नकारात्मक वृद्धि भइरहँदा चीन रहेकाे पूर्वी एसियामा मात्र सकारात्मक वृद्धिदर देखिने बैंककाे अनुमान छ । यद्यपी अर्काे वर्ष एसिया पुनः लयमा फर्कने र पूर्व प्रक्षेपित भन्दा माथिकाे आर्थिक वृद्धि गर्ने रिपाेर्टमा उल्लेख छ ।

प्रकाशित मिति २०७७ असोज १ गते बिहीबार ०१:३०
हजुरको प्रतिक्रिया