२०८३ साउन २१ गते बिहीबार

चार शैक्षिक संस्थासंग महानगरकाे समझदारी

चार शैक्षिक संस्थासंग महानगरकाे समझदारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १ गते बिहीबार ०४:५०

फरक फरक ४ वटा प्राविधिक शिक्षालयहरूसंग महानगरले समझदारी पत्रमा हस्ताक्षर हस्ताक्षर गरेकाे छ ।

प्राविधिक शिक्षालयकाे सिप नगर विकासमा प्रयाेग गरिने

असाेज १,पाेखरा ।
राष्ट्रिय विज्ञान दिवशका अवसरमा पोखरा महानगरपालिका कार्यालयले विभिन्न फरक चार वटा संस्थासंग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । पोखरास्थित विभिन्न प्राविधिक शिक्षालयहरुसंग महानगरपालिकाले समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
महानगरस्थित प्राविधिक क्याम्पसहरुको सिप, ज्ञान र जनशक्तीलाई स्थानिय निकायको विकासमा जोडेर लैजाने उद्धेश्यका साथ महानगरले पश्चिमाञ्चल क्याम्पस, बन क्याम्पस, नर्सिङ क्याम्पस तथा जेन्टा क्लव पोखरासंग साझेदारी पत्रमा हस्ताक्षर गरेको हो ।


पोखरा महानगरपालिका कार्यालयको सभाहलमा सम्पन्न ‘राष्ट्रिय विज्ञान दिवश तथा समझदारी पत्र हस्ताक्षर कार्यक्रम’मा पोखरा महानगरपालिकाको तर्फबाट महानगरका प्रमुख मान बहादुर जिसीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ भने इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका प्रमुख राम प्रसाद पौडेल, बन क्याम्पस पोखराका प्रमुख विनोद हयेजु, नर्सिङ क्याम्पस प्रमुख निता ताम्राकार र जेन्टा क्लव पोखराका उपाध्यक्ष निरुता थापाले क्याम्पससंग सम्वन्धित प्राविधिक ज्ञान, सिप र जनशक्तीको सहकार्य गर्ने गरि समझदारीपत्रमा हस्ताक्षर गरेका हुन ।


महानगरस्थित प्राविधिक शिक्षालयहरुको सिप, ज्ञान र जनशक्तीलाई महानगरको विकासमा प्रयोग गर्ने अभिप्रायले समझदारीपत्रमा हस्ताक्षर भएको महानगरका प्रमुख मान बहादुर जिसीले बताउनु भयो । महानगरमा सञ्चालित प्राविधिक शिक्षालयहरुले नगरवासीको विकाससंग सम्वन्धित क्रियाकलापमा आफुलाई जोडदै लैजानपर्ने उहाँको धारणा थियो । हाललाई चारवटा शिक्षालयसंग सम्झौता पत्रमा हस्ताक्षर भएको र आगामी दिनमा बाँकी अन्य क्याम्पसहरुसंग पनि सम्झौता गरेर अगाडी बढने महानगरले लक्ष्य लिएको उहाँले बताउनु भयो ।
कार्यक्रमका अवसरमा बोल्नुहुँदै महानगरका उप–प्रमुख मञ्जुदेवी गुरुङले जुन लक्ष्य प्राप्तीका लागि महानगरले शिक्षालयहरुसंग समझदारीपत्रमा हस्ताक्षर गरेको छ त्यो पुरा गर्न महानगर प्रविवद्ध रहेको बताउनुभयो ।
पश्चिमाञ्चल क्याम्पसका प्रमुख रामप्रसाद पौडेलले शैक्षिक संस्था र राज्यका कार्यकारी निकायहरुका विच सहकार्य अनिवार्य रहेको र महानगरले सो को तदारुकता देखाएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा बन क्याम्पसका प्रमुख विनोद हयेजु, निरुता थापा, मोनिका थापा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमका अवसरमा राष्ट्रिय विज्ञान दिवशको औचित्य र जनजीविकामा यसको महत्व बारे अन्तरक्रिया समेत गरिएको थियो ।
शहरी योजना आयोगका उपाध्यक्ष रामचन्द्र लामिछानेको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन शहरी योजना आयोगकै सदस्य बाबुराम भण्डारीले गर्नुभएको थियो ।

प्रकाशित मिति २०७७ असोज १ गते बिहीबार ०४:५०
हजुरको प्रतिक्रिया