२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा झण्डै ९० प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न

गण्डकीमा झण्डै ९० प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २२ गते बुधबार ०१:०४

गण्डकी । समय साउनको अन्तिमतर्फ उकालो लाग्दै गर्दा गण्डकी प्रदेशमा झण्डै ९० प्रतिशत खेतमा धान रोपाइ सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकारको भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयका अनुसार साउनको...

गण्डकी ।

समय साउनको अन्तिमतर्फ उकालो लाग्दै गर्दा गण्डकी प्रदेशमा झण्डै ९० प्रतिशत खेतमा धान रोपाइ सम्पन्न भएको छ।

गण्डकी प्रदेश सरकारको भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयका अनुसार साउनको १८ गतेसम्म जिल्लाका अद्यावधिक विवरणहरू अनुसार कुल ८८.९७ प्रतिशत खेतमा रोपाइँ पूरा भएको हो। हालसम्म सबैभन्दा बढी बागलुङमा ९६.८१ प्रतिशत रोपाइँ पूरा हुँदा सबैभन्दा कम नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ७९.२७ प्रतिशत रोपाइँ सकिएको छ।

बागलुङमा पाँच हजार सात सय सात हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकोमा पाँच हजार पाँच सय २५ हेक्टरमा रोपाइँ भएको छ। यस्तै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १८ हजार सात सय २० हेक्टरमा रोपाइँ हुने अनुमान गरिएकोमा १४ हजार आठ सय ४० हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ।

गोरखामा ८४.४७ प्रतिशत अर्थात् १० हजार एक सय ४० हेक्टरमध्येको आठ हजार पाँच सय ६५ हेक्टरमा, लमजुङमा ९५.२८ प्रतिशत अर्थात् नौ हजार दुई सय ९९ हेक्टरमध्येको आठ हजार आठ सय ६० हेक्टरमा। तनहुँमा ९१ प्रतिशत अर्थात् आठ हजार सात सय २० हेक्टरमध्येको सात हजार नौ सय ३५ हेक्टरमा रोपाइँ भएको छ। यस्तै कास्कीमा ९५ प्रतिशत अर्थात् १६ हजार दुई सय २० हेक्टरमध्येको १५ हजार चार सय नौ हेक्टरमा, पर्वतमा ९० प्रतिशत अर्थात् सात हजार एक सय ८० हेक्टरमध्येको छ हजार चार सय ६२ हेक्टरमा रोपाइँ भएको छ।

स्याङ्जामा ८८.४९ प्रतिशत अर्थात् १४ हजार तीन सय ९० हेक्टरमध्येको १२ हजार सात सय ३४ हेक्टरमा  र म्याग्दीमा ९१.०१ प्रतिशत अर्थात् तीन हजार आठ सय छ हेक्टरमध्येको तीन हजार चार सय ६४ हेक्टरमा रोपाइँ सम्पन्न भएको निर्देशनालयले बताएको छ।

११ वटा जिल्लाहरू रहेको गण्डकी प्रदेशका नौ वटा जिल्लामा मात्रै धान खेती हुने गरेको छ। हिमाल पारीको जिल्लाका रूपमा रहेका मनाङ र मुस्ताङमा भने धान खेती हुँदैन। धान उत्पादन हुनेमध्येका नौ जिल्लामा कुल खेतीयोग्य जमिन चार लाख ७९ हजार छ सय १७ हेक्टर रहेकोमा यस वर्ष ९४ हजार एक सय ८२ हेक्टरमा मात्रै धान रोपाइँ हुने अनुमान गरिएको छ। पोहोर साल भने ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो।

धान उत्पादनका लागि गोरखाको छेवेटार, भुसुन्डेफाँट, पालुङटार, लमजुङको मध्यनेपाल, भोर्लेटार, नेटा, तनहुँको भानु नगरपालिकाका सबै वडाहरू र व्यास, कास्कीको मादी गाउँपालिकाको मकै खोला र हाडी खोला, पर्वतको फलेवास नगरपालिकाको सिमखेत र साझाखेत, स्याङ्जाको पुतलीबजार नगरपालिकाको वडा नं. १, ४, ११, १२, १३ र १४, म्याग्दीको रत्नेचौर, ज्यामरुककोट र अर्थुङ्गे, बागलुङको निशिखोला, बरेङ र गलकोट तथा नवलपरासी  (बर्दघाट सुस्ता पूर्व) को कावासोती, मध्यविन्दु र गैँडाकोट लगायतका ठाउँहरू प्रख्यात रहेका छन्।

यी ठाउँहरूमा सावित्री, रामधान, सुक्खा–१, सावा, जेठोबुढो, पहेँले, गुर्दी, एक्ले, झिनुवा, पोख्रेली, सावा मन्सुली, जर्नेली सहित स्थानीय जातका धानहरू लगाउने गरिएको छ।

प्रकाशित मिति २०८२ साउन २२ गते बुधबार ०१:०४
हजुरको प्रतिक्रिया