एमालेलाई क्षति, जिल्ला कमिटी घोषणा मंगलबार
कास्की । नेकपा विवादमा सर्वोच्च अदालतले फागुन २३ मा ब्युँताएकाे एमालेमा नरहने गरि माधव नेपाल समूहले कास्कीमा गठन गरेकाे समानान्तर कमिटी नै कास्कीकाे नेकपा एकीकृत समाजवादी पार्टीमा रुपान्तरण हुने भएको छ । यसअघिकाे समानान्तर कमिटी नै नेएसमा जाने भएपछि एमाले कास्कीले क्षति व्यहाेर्ने निश्चित बनेकाे छ ।
गत चैत १९ गते कास्कीमा धनराज आचार्यको संयोजकत्वमा ७५ सदस्यीय समान्तर कमिटीकाे नेता नेपालले घोषणा गरेका थिए । चैत २४ गते कमिटीलाई पूर्णता दिँदै १ सय ४७ सदस्यीय बनाइएको थियो । कमिटीको अध्यक्षमा धनराज आचार्य, सचिवमा होम नेपाली, सहसचिवमा पूर्ण लामा छन् ।
समानान्तर कमिटीका उपाध्यक्ष शोभाकर भण्डारीको कोरोना संक्रमणका कारण मृत्युभएपछि उपाध्यक्ष पद खाली राखेर १ सय ८५ सदस्यीय एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी मंगलबार घोषणा गरिने अध्यक्ष आचार्यले जानकारी दिए । कास्की जिल्ला कमिटीसँगै पोखरा महानगर कमिटीमा पनि एमालेको समान्तर कमिटी नै एकीकृत समाजवादीमा रुपान्तरण हुने भएको छ ।
१ सय ४१ सदस्यीय महानगर कमिटीको अध्यक्ष मुक्ति पौडेल र सचिव सुशील बस्नेत छन् । नेकपा विभाजनपछि नेपाल समूहमा लागेका आचार्य एमालेमै रहन सक्ने चर्चा पनि चलेको थियो । तर, आचार्यले भने जुन एजेण्डा लिएर हिजो समानात्नर कमिटी गठन भएको थियो, त्यो एजेण्डा बाँकी नै रहेकाले नेपाल नेतृत्वको पार्टीमै लागेको बताए ।
राष्ट्रिय वाणिज्य संघको पूर्वअध्यक्षसमेत रहेका आचार्य पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियु सभापति हुन् । कास्कीमा प्रभाव जमाउन सक्ने नेताका रुपमा परिचित आचार्य पोखरा महानगरको मेयरको दाबेदार पनि थिए ।
कास्कीका एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद तुलबहादुर गुरुङ, चुडामणि विक जंगली, श्रीनाथ बराल, दिलु पन्त एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य छन् ।
प्रकाशित मिति २०७८ भदौ १४ गते सोमबार ०८:४९




