काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपाली नागरिकहरुका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने भएको छ ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय चःमतिमा बसेको पार्टीको केन्द्रिय कमिटी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले विदेशमा रहेका नेपाली नागरिकहरुका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
यस्तै पार्टी सभापति रवि लामिछानेका लागि जनताको हस्ताक्षर अभियानलाई देशव्यापी रुपमा प्रभावकारी बनाउन केन्द्रिय समितिको तर्फबाट संगठन निर्माणका हरेक गतिविधि सँगसँगै प्रभावकारी बनाइने समेत निर्णय भएको उल्लेख गरे । पार्टीको संस्थापक केन्द्रिय सदस्य इश्रामुल्ला मियालाई केन्द्रिय सदस्यको जिम्मेवारी पुनः दिने निर्णय गरेको जानकारी दिए ।
पार्टीले सम्पादन गर्नुपर्ने विभिन्न रणनीतिक कार्यहरू सम्पादन गर्नका लागि रणनीतिक समूहहरू गठन गर्ने र पार्टीको संगठन वडादेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म सशक्त बनाउन र आवश्यक सबलीकरणका लागि केन्द्रिय समितिका सबै सदस्यहरू तथा केन्द्रिय विभागका सबै सदस्यहरूलाई जिल्ला जिल्लामा परिचालन गर्ने निर्णय गरेको पनि उनले जिकिर गरे ।
प्रवक्ता झाले सभापति रवि लामिछानेका लागि राजनीतिक, कानूनी, प्रशासनिक तवरमा न्यायका लागि प्रयास जारी राख्ने तर जनताको अदालतबाट न्याय पाइने बताएका छन् ।
प्रकाशित मिति २०८२ साउन २४ गते शुक्रबार ०८:०१




