मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा
काठमाडौं । वाग्मती प्रदेशसभामा नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने १२ जना सांसदले आफूहरूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेकाे बताएका छन् । मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् ।
नेकपा एकिकृत समाजवादी पार्टी राेज्ने सांसदहरूमा राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रमा आले मगर, बसन्त मानन्धर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, माधव पौडेल र कृष्ण खनाल रहेका छन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २२ गते साँझ ५ बजेसम्मको समय दिएको थियो । ‘२३ गते आयोगले हाम्रो दलमा सांसद संख्या यति छ भनेर दिन्छ, लगत्तै हामी प्रदेशसभामा पेश गर्छौं,’ एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले भने ।
नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।
१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर त्यही दिन एमाले फुटेर नेकपा समाजवादी एकीकृत दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको थियो ।
प्रकाशित मिति २०७८ भदौ १५ गते मंगलबार ०६:१९




