पोखरा ।
विश्व स्वास्थ्य संगठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको छ ।
यससँगै बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको छ ।
नेपालको सफलतामा विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बधाइ दिएको छ ।
संगठनका दक्षिण पूर्वी एसिया कार्यालय प्रमुख डा. क्याथरिना बोएह्मले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सोमबार पत्र पठाउँदै सो बधाइ दिएका छन् ।
लामो समयदेखि प्रयास भइरहे पनि बालबालिकाको ज्यान लिने कारक यस रोगको उन्मूलन हुनसकेको थिएन ।
केही समययता नेपालले गरेको प्रगतिको मानकलाई आधार मानेर विश्व स्वास्थ्य संगठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमार्फत यो कार्यमा सक्रिय सबै स्वस्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालगायत साझेदारहरूलाई धन्यवाद दिएका छन् ।
वश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को नेपालमा रहेको कार्यालयले हिजो विज्ञप्ति निकालेर नेपाललाई रुबेला रोग निवारण भएको घोषणा गरेको हो ।
प्रकाशित मिति २०८२ भदौ ३ गते मंगलबार ११:१०




