काठमाडौं ।
नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा सहरीकरणका कारण ध्वनी, धुँवा र फोहोर प्रदूषण बढेको निष्कर्ष निकालेको छ । यी समस्या न्युनिकरणका लागि नेपाल प्रहरीले शान्त तथा अवरोधमुक्त अभियान सुरु गरेको हो । बढ्दो सहरीकरणका कारण काठमाडौँ उपत्यकामा बेलाबखत प्रदूषण उच्च हुने गरेको छ । गत वैशाख ४ गते त काठमाडौँ उपत्यका विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरमध्ये दोस्रो स्थानमा थियो । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एयरको तथ्याङ्कले काठमाडौँको वायु गुणस्तर सूचकाङ्क १ सय ६९ एक्यूआई भन्दामाथि सम्म पुगेको थियो । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ ।
यसलाई ध्यानमा राख्दै नेपाल प्रहरीले शान्त तथा अवरोधमुक्त अभियान सञ्चालन गरेको हो । यो प्रदूषण नियन्त्रणमा नेपाल प्रहरीले थालेको अभियान प्रशंसा योग्य छ । सहरको धुँवा,धुलो र तीव्र ध्वनीलाई रोक्नु आजको आश्यकता पनि हो ।
तर,नेपाल प्रहरीेले जारी गरेको सूचनामा उल्लेख अधिकांश विषयले नागरिक अधिकारको हनन भएको भन्दै आलोचना भइरहेको छ ।
के तपाइलाई थाहा छ– अब तपाई शौचालाय जाँदा फ्ल्स गर्दा निस्किने ध्वनीको कारणले पनि प्रहरीको फन्दामा पर्नसक्नुहुनेछ । प्रहरीले जारी गरेको अभियानका विषयमा अधिवक्ता बासु खड्काले भने,“प्रहरीले थालेको शान्त तथा अवरोधमुक्त अभियान स्वागत योग्य छ । तर, शौचालयको फ्ल्स थिच्दा निस्किने ध्वनीदेखि भात पकाउँदा कुकरमा लाग्ने सिठ्ठी समेत लगाउन नपाउने कुराले प्रहरीको अभियानमाथि नै प्रश्न उब्जिएको छ ।

अधिवक्ता बासु खड्का
अब के विद्यार्थीहरुले बिहान सबेरै उठेर कलेज तथा विद्यालय जानै नपाउने हो त ? बिहानैदेखि ज्यालादारी गरेर गाँसको जोहो गर्ने मजदुरले कामै गर्न नपाइने हो र ? शौचालय गर्दा फ्ल्स गर्दा निस्किने ध्वनीले प्रदूर्षण भएको निष्क्रर्ष निकाल्ने प्रहरीले आफैँ चढ्ने गाडीले धुँवा फालेको किन नहेरेको होला ?उपत्यका बाहिर चल्ने सवारी साधानको कुरा त छौडौँ । तर, उपत्यकाभित्र चल्ने प्रहरीकै गाडीले फाल्ने कालो धुँवा किन नदेखिएको होला ? यति मात्र होइन ट्राफिक प्रहरीकै अगाडी पानी बोक्ने गाडी, ट्रक र नागरिक ओसारपसार गर्ने माइक्रो, र बसले कालो धुँवाका लप्का फाल्दै हुँइकिँदा प्रदूषण नदेख्ने प्रहरीले भातको सिठ्ठी र शौचालयको फ्ल्सको ध्वनीले प्रदूषण बढेको भन्नु लजास्पद छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जारी गरेको सूचनामा भनिएको छ – विभिन्न मानवीय क्रियाकलापका कारण उत्पन्न हुने ध्वनी प्रदुषण मानव स्वास्थ्यका लागि हानिकारक भएको र ध्वनी प्रदुषणका कारण खास गरी गर्भवती महिला, मुटुरोगी एवं वृद्धवृद्धा र बालवालिकाको शैक्षिक,मानिसक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्नुका साथै सर्वसाधारण जनताको सामाजिक, आर्थिक कृयाकलाप तथा नैतिक मूल्य मान्यता समेत प्रभावित हुने एवं सामाजिक सम्बन्धहरुमा समेत प्रतिकूल असर पर्न जाने भएको हुदाँ तपाईको घर,परिवार र छिमेकीहरूको हितका लागि निम्न कार्यहरू पालना गर्नुहुन अनुरोध गरिएको छ ।शान्त समाज, सभ्य समाजको पहिचान पनि हो । ध्वनी, धुँवा र फोहर प्रदुषणमुक्त छिमेकी अभियानको थालनी गरौं । हो, प्रहरीले थालेको यो अभियान स्वागत योग्य छ र कार्यान्वयन आवश्यक पनि छ । राति अनावश्यक हल्ला नगर्न, ठूलो स्वरमा कुरा वा संगीत नबजाउन, पार्टी–जमघट गरेर होहल्ला गर्ने विषयलाई राम्रै मान्न सकिन्छ । तर, टेलिभिजन,भान्सा, शौचालय र प्रेसर कुकरबाट निस्किएको आवाजकै कारण कारबाहीमा पर्नु कतिको उपयुक्त होला ?
प्रहरीले ध्वनी प्रदूषण नियन्त्रण गर्न कानुनी व्यवस्था पनि कडा रहेको उल्लेख गर्दै त्यस्तो गतिविधि गर्ने व्यक्ति वा संस्थालाई ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने जनाएको छ । तर, रातिको १०–११ बजे प्रहरीले साइरन बजाउदा हुँइकिँदा त्यसबाट चाहीँ प्रदूषण हुन्छ कि हुँदैन ? नागरिकको भान्सामा भाँडा र प्रेसर कुकरको सिठ्ठी बजेको थाहा पाउने प्रहरीले आफ्नै भ्यानले फाल्ने कालो धुँवाको लप्का किन नदेखेको होला ? त्यसकारण फितलो नीति र कमजोर कार्यान्वयन योजनाले हुने आलोचना नै हो । प्रहरी हाम्रो साथी भन्ने नारा बोकेको प्रहरीले नागरिकलाई केन्द्रमा राख्न आवश्यक छ । यसका साथै आफ्ना नीति निर्माणमा गम्भीर र संवेदनशील हुन पनि जरुरी देखिन्छ ?
प्रकाशित मिति २०८२ भदौ २० गते शुक्रबार ०१:१०




