२०८३ कात्तिक १० गते सोमबार

विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएपछि सीटीईभीटीले मंसिरमा पुनः परीक्षा गर्दै

विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएपछि सीटीईभीटीले मंसिरमा पुनः परीक्षा गर्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २४ गते शुक्रबार १०:०३

जेनजी आन्दोलनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को १४ हजार ७०० वटा उत्तरपुस्तिका र त्रिभुवन विश्वविद्यालयको ६५२ जना विद्यार्थीको उत्तर पुस्तिका जलेको छ ।

काठमाडौं ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले विद्यार्थीको उत्तरपुस्तिका जेनजी आन्दोलनमा जलेर नष्ट भएपछि पुनः परीक्षा गर्ने भएको छ ।

सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा ४ मंसिरदेखि हुनेछ । जेनजी आन्दोलनमा सीटीईभीटीको १४ हजार ७०० वटा उत्तरपुस्तिका जलेका थिए ।

सीटीईभीटीको डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका परीक्षाको उत्तरपुस्तिका जलेको प्रवक्ता टैलेन्द्र आचार्यले बताए । उनका अनुसार प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएका हुन् ।

जेनजी आन्दोलनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को १४ हजार ७०० वटा उत्तरपुस्तिका र त्रिभुवन विश्वविद्यालयको ६५२ जना विद्यार्थीको उत्तर पुस्तिका जलेको छ ।

सबैभन्दा धेरै सीटीईभीटीका विद्यार्थीको उत्तरपुस्तिका जलेका छन् ।

कोशी प्रदेशका ५ वटा र बागमती प्रदेशका १८ वटा परीक्षा केन्द्रहरूको उत्तरपुस्तिका जलेर नष्ट भएको छ । केही उत्तरपुस्तिकामा आंशिक क्षति पुगेको छ ।

कोशीका पाँच केन्द्रको उत्तर पुस्तिकामा नियमिततर्फ १ हजार ९३७ वटा र आंशिकतर्फ १ हजार ६५० गरी ३ हजार ५८७ वटा उत्तर पुस्तिका जलेको छ ।

बागमतीका १८ वटा केन्द्रको ११ हजार २०३ वटा गरी जम्मा १४ हजार ७९० वटा उत्तरपुस्तिका जलेको छ । तर यो विद्यार्थीको संख्या भने होइन ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार एउटै विद्यार्थीको एकभन्दा बढी उत्तरपुस्तिका जलेको छ । सोही कारण सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयले जलेर नष्ट भएका उत्तरपुस्तिकाको पुनः परीक्षा गर्ने भएको हो ।

तर, सीटीईभीटीका विद्यार्थीले पुनः परीक्षा नदिने बताइरहेका छन् । सीटीईभीटीले पुनः परीक्षाको सूचना निकालेपछि विद्यार्थीले विरोध जनाएका हुन् ।

सीटीईभीटी कार्यालय पुगेर विद्यार्थीहरूले पुनः परीक्षा लिने निर्णयबाट ब्याक हुन दबाब दिइरहेका छन् ।

प्रकाशित मिति २०८२ असोज २४ गते शुक्रबार १०:०३
हजुरको प्रतिक्रिया