काठमाडौं ।
सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय वार्ता हुने भएको छ ।
वार्ता आज दिउँसो ४ बजे प्रधानमन्त्री निवासमा हुनेगरी तय भएको छ ।
निर्वाचनको वातावरण तयार पार्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले वार्ता आह्वान गरेकी हुन् ।
विभिन्न ८÷९ वटा समूहका जेनजी प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र प्रधानमन्त्री–मन्त्रीहरूसहितको त्रिपक्षीय वार्ता हुन लागेको हो ।
बैठकमा निर्वाचनको वातावरण तयार पार्नका लागि सबै पक्षले आ–आफ्नो ठाउँबाट खेल्नुपर्ने भूमिकाका बारेमा छलफल हुने जनाइएको छ ।
यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा आवश्यक वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सबैपक्ष सकारात्मक भएका थिए ।
यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए । लामो समयपछि भएको औपचारिक राजनीतिक संवादले निर्वाचनको माहोल बनाएको सम्बद्ध पक्षको भनाइ छ ।
निर्वाचनको तयारीस्वरुप सरकारले सबैखाले काम अगाडि बढाएको सरकारका प्रवक्ता जगदिश खरेल बताए ।
सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका निम्ति ताकेता गरिरहेको छ ।
सोहीअनुसार आयोग निर्वाचनको आवश्यक तयारीमा जुटिसकेको छ ।
प्रकाशित मिति २०८२ कात्तिक १३ गते बुधबार ०९:०७




