पोखरा ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन सानेपामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको छ ।
बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रित रहेको जनाइएको छ ।
आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ ।
हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ ।
यो अवस्थामा शुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा चर्चा भइरहेको छ ।
नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए ।
त्यस क्रममा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको जनाइएको छ ।
यसअघि असोज २८ गते शुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।
त्यसयता खड्काको सभापतित्वमा कार्यसमिति बैठक बसिरहेको छ । हिजो पनि कार्यवाहक सभापति खड्काले आफू निकटका नेताहरुसँग छुट्टै छलफल गरेका छन् ।
केन्द्रिय समिति बैठकको अघिल्लो दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरुसँग ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बोलाएर आगामी रणनीतिबारे छलफल गरेका हुन् ।
बैठकमा संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारीसहित करिव ७५ जना सहभागी थिए ।
सभापति देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि निरन्तर गुट भेला राख्दै आएका छन् ।
उक्त छलफलले पार्टी अब महाधिवेशनभन्दा अगामी २१ फागुनमा तोकिएको चुनावमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको बताइएको छ ।
पार्टी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति नतोके बेग्लै भेला राख्ने सम्मको तयारी इतरपक्षको छ ।
प्रकाशित मिति २०८२ कात्तिक १४ गते बिहीबार ०९:४४




